‘कम्मरमा कट निकाल्न जिम जान्छु’

कुबेर डंगोल     २९ फागुन २०७७, शनिबार
‘कम्मरमा कट निकाल्न जिम जान्छु’

नम्रता सापकोटाले अभिनय गरेको पहिलो फिल्म ‘सिग्नेचर’ हो । तर, यो फिल्म आजसम्म पनि हलमा आएको छैन । त्यसैले उनले दोस्रो पटक अभिनय गरेको ‘अन्तराल’ उनको डेब्यु फिल्म हो । त्यसयता उनले ‘छक्का पञ्जा’, ‘ब्रासलेट’, ‘समर लभ’ आदि फिल्ममा अभिनय गरेकी छिन् । सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी नम्रता आजभोलि नियमित जिम जान्छिन् । नम्रताले आफ्नो फिटनेस अनुभव ‘राम्रो अनलाइन’ लाई सुनाएकी छिन् । 


दुब्लाउन जिम
पहिला म खासै मोटी थिइनँ । बीचमा फिल्म र म्युजिक भिडियो दुवैबाट टाढा भएँ । मेरो शरीर स्वस्थ छ, जे खाए पनि लागिहाल्छ । तीनचार वर्षअघिसम्म ज्यान घटाउन घरमै वर्कआउट गर्थें तर यतिले मात्र हुन्नजस्तो लागेपछि दुई वर्षयता जिम जान थालेकी छु । शरीर फिट राख्न र ज्यान रहरलाग्दो बनाउन जिम जाने गर्छु । यति गरेपछि शरीर स्वस्थ हुन्छ भन्ने मलाई थाहा छँदै छ । 

‘कट’ निकाल्ने रहर

जिम गएपछि सबैलाई केही न केही गर्ने रहर भइहाल्छ । केटाहरूलाई बाइसेप्स, एब्स निकाल्न मन लाग्छ । केटीहरूलाई चाहिँ कट निकाल्न मन पर्छ । म पनि जिममा यही मोटिभेसनले पसिना बगाउँछु । कम्मरमा कट निस्कियोस् भनेर जिम धाइरहेकी छु । अनि, फिगर पनि फिट देखियोस् भन्ने चाहन्छु । 
धेरैजसो सुटिङ परिरहेको हुन्छ । सुटिङमा घरको जस्तो खाना खोजेर पाइँदैन । जे पाकेको छ, त्यही खानुपर्छ । त्यसैले पनि हामीलाई शरीर मेन्टन गर्न गाह्रो भइरहेको हुन्छ । जति दिन जिम जान्छु, मन लगाएर इन्स्ट्रक्टरले भनेको कुरा गर्छु । कट निकाल्न इन्स्ट्रक्टरको सल्लाहअनुसार कार्डियो ट्रेडमिल, स्ट्रेचिङ, वेट लिफ्टिङ गर्छु । जिम जान थालेपछि मेरो ज्यान हेल्दी हुँदै गइरहेको छ र मसल पनि टाइट भइरहेको छ । शरीर स्वस्थ राख्न योग पनि एकदमै उपयोगी छ भन्ने थाहा छ । तर, त्यो चाहिँ समूहमा हुँदा यदाकदा गर्छु । नियमित गर्दिनँ । 

मःमः छाड्नुप¥यो 

फिटनेसका लागि डाइटको ठूलो भूमिका हुन्छ । मैले पनि आजभोलि त्यहीअनुसार डाइट प्लान गरेकी छु । बिहान सात–साढे सात बजेसम्म उठिसक्छु । उठेर सबैभन्दा पहिला पानी खान्छु । त्यसपछि ब्ल्याक टी खान्छु । ब्रेकफास्टमा सुक्खा रोटी वा ब्रेड जे पाइन्छ, त्यही खान्छु । त्यो पनि दुइटाभन्दा बढी खान्नँ । अण्डा चाहिँ एकदमै मन पर्छ । कतिपयले अण्डाको पहेँलो भाग खाँदैनन् । तर, मलाई चाहिँ त्यही भाग धेरै मन पर्छ । 
घरमा हुँदा ब्राउन राइस खान्छु । बाहिर निस्कनु छ भने गाडीमै चना, बदाम आदि राख्छु र भोक लागेको बेलामा खान्छु । फिटनेसकै लागि मन पर्दापर्दै चटक्क छाडेको चाहिँ मःमः हो । मःमः मलाई असाध्यै मन पथ्र्यो तर खान हुन्न भनेपछि छाडेँ । त्यस्तै दही पनि नखानू भन्छन् तर यो चाहिँ छाड्न सकेकी छैन । देखेपछि आफूलाई रोक्नै सक्दिनँ ।  

गीत बजाएर नाच्छु

सकेसम्म नियमित जिम जान्छु तर कहिलेकाहीँ जान पाइनँ भने पनि घरमै वर्कआउट गर्छु । त्यसका लागि गीतको सहारा लिने गरेकी छु । जिम जान पाएको बेला आफूलाई मन पर्ने गीतमा एक–डेढ घण्टा मस्तसँग नाच्छु । नाच्दा पनि मज्जाले पसिना निस्कन्छ । यसले पनि फ्रेस बनाउँछ । नाच सँगसँगै स्किपिङ पनि गर्ने गरेकी छु । स्किपिङ गर्दा पनि राम्रै एक्सरसाइज हुन्छ । 
फिटनेसका लागि जिम जान थालेपछि यसले सोचाइमा पनि सकारात्मक असर पारेको महसुस गरेकी छु । हाम्रो जीवन तनावले भरिएको छ । एक्सरसाइज गर्दा फ्रेस महसुस हुन्छ । व्यायामले हामीलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ बनाउँछ

प्रतिक्रिया