संसारमा भए यस्तायस्ता विचित्र काम

एजेन्सी     १८ फागुन २०७७, मङ्गलबार
संसारमा भए यस्तायस्ता विचित्र काम

–सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति भयो। यसलाई अक्टोबर क्रान्तिका नामले चिनिन्छ। त्यतिबेला सेन्ट पिटर्सबर्गमा रहेको जारको दरबारमा एउटा अनौठो घटना भएको थियो। बोल्सेभि क क्रान्तिकारीहरूले ‘विन्टर प्यालेस’ कब्जा गरे। त्यहाँ मदिराको विशाल संग्रह थियो। वाइन, ह्विस्की र भोड्काको त्यति ठूलो संग्रह भेटिएपछि क्रान्तिकारीहरूले मदिराको आनन्द लिए। भनिन्छ, केही हप्तासम्म उनीहरू रक्सीको मातमा डुबेका थिए। पछि ठूलो परिमाणको रक्सी नष्ट गरिएको थियो। 

–मध्य युग (पाँचौदेखि १५ औँ शताब्दीसम्मको समय) मा युरोपका केही देशमा घरपालुवा जनावरलाई कानुनी कारबाही गरेर दण्ड दिने चलन थियो। बेलायत, फ्रान्स आदि देशमा जनतालाई हानि पुर्याउने जनावरविरुद्ध मुद्दा चलाइन्थ्यो र मृत्युदण्ड पनि दिइन्थ्यो। 

–अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन (सन् १८०९–१८६५) लाई एक जना ११ वर्षीया बालिकाले दाह्री पाल्ने सल्लाह दिएकी थिइन्। राष्ट्रपतीय निर्वाचनको केही हप्ताअघि ग्रेस बेडेलले उनलाई पत्र लेखेर दुब्लो–पातलो अनुहारमा दाह्री राम्रो देखिने सुझाव दिएकी थिइन्। लिंकनले पनि ग्रेसलाई पत्र पठाएका थिए। ‘मैले अहिलेसम्म दाह्री पालेको छैन,’ उनले लेखेका थिए, ‘अब पाल्दा मान्छेहरूले गिल्ला गर्ने पो हुन् कि ?’ तर, ग्रेसले पत्र लेखेको एक महिनापछि उनी बाक्लो दाह्रीसहित देखिएका थिए। 

–सन् १७८९ मा फ्रान्सेली क्रान्ति भयो। क्रान्तिका प्रमुख नेतामध्ये एक थिए, म्याक्सिमिलयन दे रोबेसपिएरे। उनी वकिल पनि थिए। उनले थुप्रै क्रान्तिविरोधी र आफ्ना दुश्मनलाई गिलोटिनमार्फत मृत्युदण्ड दिन भूमिका निर्वाह गरेका थिए। सन् १७९४ मा उनको नियति पनि उस्तै भयो। उनलाई पनि गिलोटिनले काटेर मृत्युदण्ड दिइयो। 
 

प्रतिक्रिया