काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप तथा रोजगारसँग जोड्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस, शिक्षा विभागले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको शिक्षा नीति बहसमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सभापति देउवाले भने, “नेपाललाई नै विदेशी विद्यार्थीका लागि उच्च शिक्षाको गन्तव्यको मुलुक बनाउनुपर्ने, यसका लागि प्रशस्तै सम्भावना हुँदाहुँदै पनि यतैबाट युवा बाहिरिनु सोचनीय विषय हो। युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप तथा रोजगारीसँग जोड्न आवश्यक छ।”
उनले कक्षा ११ उत्तीर्ण हुने बित्तिकै बिदेसिने विषय चिन्ताजनक बनेको बताए ।
उनले भने, ‘पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै बिदेसिने विषय डरलाग्दो विषयको रूपमा देखिएको छ। मुलुकमा सञ्चालित क्यामपसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुराहरू पनि आइरहेको छ। यस्तै समस्याहरूको समाधानको ठोस उपाय, खोज्नका लागि यस्ता बहसलाई निरन्तरता दिनु आजको आवश्यकता हो।’
उनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम समय अनुसार परिमार्जन गर्न आवश्यक रहेको सुझाव दिए।
उनले भने, “विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मको पाठ्यक्रम समय अनुसार परिमार्जन गर्न आवश्यक देखिन्छ। नेपाली कांग्रेसको शिक्षा विभागको नेतृत्वमा हुने यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा पनि सहयोग पुर्याउने मैले अपेक्षा लिएको छु। कमसेकम अबको ४०, ५० वर्षको अनुमान गरेर मुलुकले मनन गर्नुपर्ने शिक्षा नीति, निर्माणका लागि यस विभागले प्रशस्त पहल गरोस् भन्ने मेरो चाहना छ।”
उनले शिक्षा क्षेत्रमा रूपान्तरण, शिक्षामा बजेट वृद्धि, प्रतिस्पर्धात्मक शिक्षा प्रणालीको विकास, दक्ष जनशक्तिको उत्पादन, शिक्षामा गुणस्तरीय सामाग्रीको व्यवस्थापन, समय सापेक्ष पाठ्यक्रमको सुधार, बौद्धिक जनशक्ति पलायनको अन्त्य तथा नागरिकमा देशभक्तिको भावना विकास गर्ने नैतिक शिक्षा मुलुकको आवश्यकता रहेको उल्लेख गरे।