इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

राम्रो अनलाइन     १७ असोज २०८३, शनिबार
इन्जिनियर लक्ष्मण केसीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं–सिभिल तथा ट्रान्सपोर्टेसन इन्जिनियर इन्जिनियर लक्ष्मण केसीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

केसीले अमेरिकाको University of Hawaiʻi at Mānoa बाट सन् २०१० मा Civil and Environmental Engineering मा मास्टर अफ साइन्स (एमएस) गरेका छन्। उनले Transportation Engineering मा विशेषज्ञता हासिल गरेका हुन्।

नेपालको पूर्वाधार, यातायात, सडक सुरक्षा, अनुसन्धान तथा विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत केसी सन् २०१२ देखि Executive Consulting Engineering and Planners Pvt. Ltd. का Managing Director का रूपमा संलग्न छन्। उनी Nepal Integrated Research and Development Foundation का Executive Director समेत हुन्।

केसीले World Bank Group Nepal, ReCAP/Helvetas, ILO, Department of Roads/World Bank, National Planning Commission, Practical Action Nepal लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग विभिन्न भूमिकामा काम गरिसकेका छन्। यातायात, सडक पूर्वाधार, योजना तथा विकासका क्षेत्रमा उनले प्राविधिक तथा व्यवस्थापकीय अनुभव हासिल गरेका छन्।

शिक्षण क्षेत्रमा समेत संलग्न केसीले Institute of Engineering (IOE), Pulchowk तथा Nepal Engineering College मा स्नातकोत्तर तहमा Transportation Engineering सम्बन्धी विभिन्न विषय अध्यापन गरेका छन्। उनले विभिन्न इन्जिनियरिङ कलेजमा सडक सुरक्षा तथा यातायातसम्बन्धी विषयमा अतिथि व्याख्यानसमेत दिँदै आएका छन्।

लोकतान्त्रिक तथा राजनीतिक गतिविधिमा संलग्नता

केसी प्राविधिक पेशासँगै लोकतान्त्रिक तथा राजनीतिक गतिविधिमा पनि संलग्न रहँदै आएका छन्। उनी Centre for Democratic Engineers Nepal (CDEN) का संस्थापक सदस्यमध्ये एक हुन्। सन् २०१८ देखि २०२० सम्म उनी संस्थाको निर्वाचित केन्द्रीय उपाध्यक्षका रूपमा कार्यरत थिए।

उनी नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यसमेत भइसकेका छन्। नेपाली कांग्रेसका संगठनात्मक गतिविधिमा पनि लामो समयदेखि संलग्न रहेको उनको भनाइ छ।

अनुसन्धान र प्रविधिमा आधारित राजनीतिको एजेन्डा

केसीले आफ्नो उम्मेदवारीलाई राजनीतिक निर्णय प्रक्रियामा प्राविधिक ज्ञान, अनुसन्धान, वैज्ञानिक योजना तथा प्रभावकारी व्यवस्थापनलाई जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

भूकम्प, कोभिड–१९ महामारी, बाढी–पहिरो लगायतका विपद् तथा पछिल्ला सामाजिक–राजनीतिक परिवर्तनले विकासका लागि राजनीतिक प्रतिबद्धतासँगै प्राविधिक क्षमता, अनुसन्धान र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताएका छन्।

पछिल्लो Gen-Z आन्दोलनले नयाँ पुस्ताको सोच, अपेक्षा र परिवर्तनको चाहनालाई समेत उजागर गरेको उल्लेख गर्दै केसीले युवा, प्राविधिक तथा विज्ञ समुदायको ज्ञान र क्षमतालाई पार्टीको नीति निर्माण र नेतृत्व विकासमा प्रभावकारी रूपमा समेट्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले नेपालका विकास चुनौती समाधानका लागि राजनीतिक शक्ति, विज्ञ, प्राविधिक तथा नागरिक समाजबीच आवश्यक विषयमा सहकार्य र ज्ञान–सीप आदानप्रदानको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

हिमाल, पहाड र तराईका नागरिक, युवा पुस्ता तथा प्राविधिक र विज्ञ समुदायका आवाजलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्ने लक्ष्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको केसीले बताएका छन्।

उनको उम्मेदवारीको मूल नाराका रूपमा “अनुभवबाट सिक्दै, प्रविधिसँग अघि बढ्दै र सहकार्यबाट समृद्ध नेपाल निर्माण गरौँ” भन्ने सन्देश अघि सारिएको छ।

प्रतिक्रिया