काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव गर्नका लागि संसद् विघटन नगरिएको भन्दै यस्तो चुनावको अर्थ नहुने बताएका छन् । संसद् विघटन र चुनाव घोषणा संविधानसम्मत नभएकाले यो कदमको कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने भन्दै दाहालले मध्यराति अपारदर्शी ढंगले गरिएको विघटनको विरुद्ध जनता उभिने पनि बताए ।
'हामी यसको कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्छौं,' सर्वदलीय बैठकपछि नयाँ बानेश्वरमा दाहालले भने । 'जसरी हिजो सडकमा र कानुनी रुपमा संसद विघटनलाई प्रतिगमन भनेर राम्रै प्रतिवाद गरियो, यो कदमको पनि प्रतिवाद गरिनेछ,' दाहालले भने । चुनावमा भाग लिनु हुन्छ कि संयुक्तरुपमा बहिस्कार गर्नुहुन्छ भन्ने संवाददाताको प्रश्नमा दाहालले भने, 'चुनावमा भाग लिने वा नलिने बिषयमा हामी छलफल गर्दैछौं ।'
उनले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जिवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातिमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको भन्दै कानुनी रुपमा प्रमाणित गर्ने पनि बताए ।
अदालतले पहिलेजस्तै फेरि एकपटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त गरेको पनि उनले बताए । 'पहिलो एपिसोडमै लाखौं जनताले सडकमा आएर प्रतिगमनको विरुद्धमा छौं भनेर देखाइसकेका छन् । अहिले कोरोनाको यो महामारीका बेला कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेका छन्, त्यसलाई जनताले सहने छैनन् । यसको स्थानीय तहदेखि नै प्रतिवादमा जनता उत्रिने छन्,' दाहालले भने ।