विकासको नाममा प्रकृतिसँग खेलवाड

गुरु केदार बराल     १२ असोज २०८३, सोमबार
विकासको नाममा प्रकृतिसँग खेलवाड

प्राकृतिक विपत्ति आउँदा हामी प्रायः दोष प्रकृतिलाई दिन्छौँ। बाढी आयो, पहिरो गयो, हिमनदी फुट्यो–भन्छौँ, ‘प्रकृतिको प्रकोप हो।’

तर एउटा प्रश्न हामीले आफैँलाई पनि सोध्नुपर्छ–प्रकृति साँच्चै यति मात्र दोषी हो?

विकासका नाममा हामीले पहाड काट्यौँ, जंगल फँडानी गर्‍यौँ, नदी–खोलाको प्राकृतिक बहावमा हस्तक्षेप गर्‍यौँ। सडक र संरचना बनाउँदा वातावरणीय संवेदनशीलता र प्राकृतिक सन्तुलनलाई कति ध्यान दियौँ? कतिपय ठाउँमा त विकास र विनाशबीचको सीमा नै छुट्याउन गाह्रो हुने अवस्था आएको छ।

हिमनदी फुट्नु, अत्यधिक वर्षा हुनु वा भूकम्प आउनु प्राकृतिक प्रक्रिया हुन सक्छ। तर प्रकृतिमाथिको अन्धाधुन्ध हस्तक्षेपले यस्ता घटनाबाट हुने क्षतिलाई अझ भयावह बनाउन सक्छ।

हामीलाई विकास चाहिन्छ, पूर्वाधार चाहिन्छ, सडक चाहिन्छ। तर विकासको अर्थ प्रकृतिलाई जित्नु होइन। विकास भनेको प्रकृतिसँग सहअस्तित्व कायम गर्दै अगाडि बढ्नु हो।

आज हामीले पहाड काटेर बनाएको बाटोले केही समय सुविधा देला, जंगल मासेर बनाएको संरचनाले केही समय आर्थिक लाभ देला। तर भोलि त्यही प्रकृतिले बाढी, पहिरो, भूक्षय वा अन्य विपत्तिको रूपमा त्यसको मूल्य माग्न सक्छ।

त्यसैले अब प्रश्न केवल ‘प्राकृतिक विपत्ति किन आयो?’ भन्ने होइन।

प्रश्न यो पनि हो–प्राकृतिक विपत्तिलाई अझ ठूलो विपत्तिमा परिणत गर्न हामी स्वयं कति जिम्मेवार छौँ?

प्रकृतिसँग खेलवाड गरेर गरिएको विकास अन्ततः विकास होइन, विनाशको तयारी हो।

प्रतिक्रिया