पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले पार्टीलाई कसरी संगठित गर्ने, सरकारलाई कसरी सफल बनाउने, सरकारका कमजोरीलाई कसरी तथ्यसहित औंल्याउने र आफ्नै पार्टीको सरकारलाई कहाँ खबरदारी गर्ने भन्ने सोच्नुपर्ने हो। तर तपाईंको अभिव्यक्ति हेर्दा सरकारलाई सहयोग गरेर सफल बनाउनेभन्दा सरकारकै विरोध गर्नुलाई आफ्नो मुख्य राजनीतिक कर्म ठान्नुभएको जस्तो देखिन्छ।
जनताले तपाईंलाई संसदमा पठाएको सरकारको खुट्टा तान्न होइन, सरकारले राम्रो काम गर्दा साथ दिन, गलत गर्दा निर्भीक भएर खबरदारी गर्न र जनताको आवाज उठाउन हो।अझ दुःखद कुरा के छ भने, आफू पार्टीको महामन्त्री भएर आफ्ना कुरा आफैं स्पष्ट रजिम्मेवारीपूर्वक राख्न सक्ने ठाउँमा अरू व्यक्तिलाई अगाडि सारेर, व्यक्तिगत सम्बन्ध र नजिकका पात्रमार्फत आफ्नो राजनीतिक सन्देश प्रवाह गर्ने शैली अपनाउनु राजनीतिक परिपक्वताको परिचय होइन।
महामन्त्री भनेको पार्टीभित्र आगो लगाउने पद होइन, पार्टीलाई जोड्ने पद हो।सरकार ढाल्ने भाषा बोल्ने पद होइन, सरकारलाई सही बाटोमा हिँडाउन दबाब दिने पद हो।व्यक्तिगत असन्तुष्टि पोख्ने पद होइन, संगठनको भविष्य सोच्ने पद हो।सरकारका कमजोरी छन् भने प्रमाणसहित बोल्नुहोस्।मन्त्रीले गल्ती गरेका छन् भने संसदमा प्रश्न गर्नुहोस्।
नीति गलत छ भने विकल्प दिनुहोस्।तर दिनरात सरकारकै विरोध गरेर आफूलाई नै पार्टीभन्दा ठूलो देखाउने प्रयास गर्नु महामन्त्रीको जिम्मेवारी होइन।आज तपाईंले संसदमा र पार्टीभित्र देखाइरहनुभएको शैलीले एउटा गम्भीर प्रश्न उठाएको छ–तपाईं पार्टी र सरकारलाई बलियो बनाउन राजनीति गर्दै हुनुहुन्छ कि आफ्नै असन्तुष्टिलाई राजनीतिको केन्द्र बनाउन?यदि महामन्त्रीले नै पार्टीको सरकारलाई कमजोर पार्ने, आफ्नै नेतृत्वलाई निरन्तर प्रहार गर्ने र कार्यकर्तामा भ्रम पैदा गर्ने काम मात्रै गर्ने हो भने, त्यो पार्टी निर्माणको बाटो होइन।मुकुल ढकालका धेरै कुरा विवादित हुन सक्छन्, उनका कमजोरी पनि हुन सक्छन्। तर कम्तीमा उनले आफ्ना कुरा आफैं राखेका थिए। आज तपाईंले देखाइरहेको शैलीसँग तुलना गर्दा, भोलि जनताले ‘मुकुल ढकाल त बरु ठीक रहेछन्’ भन्नुपर्ने अवस्था नआओस्।
महामन्त्रीज्यू,सरकारको आलोचना गर्नुस्, तर तथ्यसहित।
खबरदारी गर्नुस्, तर जिम्मेवारीसहित।असहमति राख्नुस्, तर पार्टी जोगाउने नियतसहित।किनकि जनताले तपाईंलाई सरकार असफल बनाउन मत दिएका होइनन्। सरकार सफल होस्, देश चलोस् र जनताको जीवन बदलियोस् भनेर मत दिएका हुन्।
अब पनि बुझिएन भने समस्या सरकारमा मात्रै होइन, महामन्त्रीको राजनीतिक दृष्टिकोणमै छ कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हुनेछ।