सोलुखुम्बु - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभाबी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरि प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।
`विकास निर्माणको काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ´ उनले भने ,`घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।´ उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाक सेवाप्रवाहको प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
उनले पर्यटकिय हिसाबले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको भन्दै ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गरे । ४० वर्ष अगाडी र अहिले हेर्दा आफूले साेलुखुम्बुमा विकास निर्माणको हिसावले धेरै परिवर्तन पाएको सिंहले बताए । अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएपनि यथार्थ त्यस्तो नरहेको बताए । त्यस्तै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे । `संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन करिब एक दशकको तिता मिठा अनुभवबाट सिकेर कहाँ कहाँ समस्या भयो त्यसलाई हल गर्न संविधान संशोधन गर्ने सहमति कांग्रेस-एमाले सरकार बन्दानै भएको हो। त्यहीअनुसार अहिले छलफल अघि बढेको छ,´ उनले भने । संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो ।