काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका छन्।
प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उनले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताए। “माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ । हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु माक्र्सवादी चिन्तन हुँदैन”, उनले भने।
कम्युनिष्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र सङ्घर्ष हुँदै आएको उल्लेख गर्दै सङ्घर्षका बीचमा नै कम्युनिष्ट आन्दोलनको विकास हुने बताए। सोमबार सम्पन्न सम्मेलनले देवीदुवाल क्षेत्रीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको हो ।