उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेसकाे माग

राम्रो अनलाइन     २६ भदौ २०८१, बुधबार
उपसभामुख रानाले राजीनामा दिनुपर्ने कांग्रेसकाे माग

 

काठमाडाैं – नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेकाे छ।  बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उपसभामुखले तत्काल राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो।

उपसभामुखले मुलुकको शिर निहुर्‍याउने काम गरेको भन्दै उनले मार्ग प्रशस्त र बहिर्गमनको बाटो रोज्नु उचित हुने निष्कर्ष निकालेकाे बैठकमा सहभागी एक नेताले बताए। 

यसअघि मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा सांसदहरूले पनि उपसभामुखकाे राजीनामा मागेका थिए। साेमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव लैजानुपर्ने बताएका थिए। त्यसपछि उपसभामुखकाे राजीनामा माग भइरहेकाे छ।

‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई हटाउने प्रस्ताव प्रतिनिधिसभामा दर्ता गर्न सांसदहरुको हस्ताक्षरसमेत सकंलन गरिसकेकाे छ।

संविधानको धारा ९१ उपधारा ९६० को (ग) मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

रास्वपाबाट उपसभामुख बनेकी रानामाथि केही युवालाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ।

प्रतिक्रिया