धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माा ओली समूहभित्र विवाद देखिएको छ । युवा संघ कैलालीकोे भेलामा प्रदेश अध्यक्ष कर्ण थापालाई निम्ता नदिएपछि विवाद सतहमा आएको हो ।
यसले एमालेमा माधवकुमार नेपाल र ओली समूहबीच मात्रै होइन, ओली समूहमै पनि विवाद रहेको तथ्य बाहिर आएको छ । ओली समूहभित्रकै गुटबन्दीका कारण धनगढीमा प्रदेश अध्यक्ष थापा बहिस्कारमा परेका हुन् । धनगढीमै भएका अध्यक्ष थापालाई पनि भेलामा निमन्त्रण नदिइएको हो ।
युवा संघका इन्चार्ज महेश बस्नेत र अध्यक्ष बचन बहादुर सिंहसँग कुरा नमिल्ने भएकाले उनलाई निमन्त्रण नदिइएको एक नेताले बताए ।
संघीय मन्त्रीदेखि सासंदसम्म सहभागी जिल्ला भेलामा सुदूपश्चिमका अध्यक्ष थापा सहभागी नभएपछि कार्यकर्तासमेत आश्चर्यमा परेका थिए । भेलामा उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी पनि सहभागी थिए ।
नेता थापाले यस बारेमा प्रतिक्रिया दिन चाहेनन् । भेलामा ओली समूहकै कार्यकर्ताबीच विवाद बढेपछि हात हालाहाल समेत भएको युवा संघका एक नेताले बताए ।