सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

राम्रो अनलाइन     २६ साउन २०७९, बिहिबार
सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल


काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्नका लागि विभिन्न आधारबारेमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।
 
बैठकमा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तथा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई पनि चुनावी तालमेलको आधार मान्न सकिने विषयमा समेत छलफल भएको थियो । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ । 
 
यसबाहेक बैठकमा संविधान कार्यान्वयन, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा, जनजीविकाका सवाल सम्बोधनलगायत विषयमा गठबन्धन केन्द्रित हुनुपर्ने विषयमा बृहत्रूपमा छलफल भएको उनले बताए ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेता रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । कार्यदलको अर्को बैठक यही साउन ३० गते बस्ने बताइएको छ ।
 

प्रतिक्रिया