सतही विश्लेषणका कारण समाजमा ‘निराशा’ बढेको पर्यटनमन्त्रीको जिकिर

राम्रो अनलाइन     ०२ असार २०८२, सोमबार
सतही विश्लेषणका कारण समाजमा ‘निराशा’ बढेको पर्यटनमन्त्रीको जिकिर

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल ९रेक्जोन०को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गरेका हुन्।

उनका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ। त्यसैले, उनले भने,‘निराशा होइन, आशा संचारको वातावरण बनाउनु आवश्यक छ।’

समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय अपरिहार्य रहेको मन्त्री पाण्डेले जोड दिए। उनले सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘संस्कृति भनेको केवल अभौतिक होइन, विकास भनेको भौतिक र अभौतिक दुबै आयामलाई समेट्ने प्रक्रिया हो। त्यसैले विकास सबैका लागि कल्याणकारी हुनुपर्छ।’

फरक प्रसङ्गमा मन्त्री पाण्डेले द्वन्द्व व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गरे तापनि त्यसको अन्तिम रूपान्तरण नेपालीहरूले नै गरेको उल्लेख गर्दै देशमा आशाको माहोल निर्माण गर्नु अहिलेको आवश्यकता भएको धारणा व्यक्त गरे।

प्रतिक्रिया