सशस्त्रका एआइजी केसीविरुद्ध अनुसन्धान सुरु

राम्रो अनलाइन     २७ जेठ २०७८, बिहिबार
सशस्त्रका एआइजी केसीविरुद्ध अनुसन्धान सुरु

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्पराम केसीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। एआइजी केसी २०७६ साउन १६ गतेदेखि २०७७ असार मसान्तसम्म सशस्त्र प्रहरी एकेडेमीको कार्यकारी प्रमुख हुँदा आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरिएको आयोगले जनाएको छ।  

उनले नक्कली बिल बनाएर ५० लाख रूपैयाँ अनियमितता गरेको आरोप लगाउँदै उजुरी परेको थियो। आयोगले आवश्यक कारबाहीका लागि उजुरीको छायाँकपीसहित गृह मन्त्रालयलाई पत्राचार गरेको छ। एआइजी केसीले एकेडेमी प्रमुख हुँदा कार्यविधिविपरीत तालिम भत्ताको नाममा थोरै रकम वितरण गरेको, गाडी मर्मत तथा इन्धन खर्चका नाममा १६ लाखको नक्कली बिल बनाएको, लत्ताकपडा र जुत्ता खरिद गर्दा जुत्ताबाट मात्रै ७ लाख कमिसन खाएको आरोप उजुरीमा लगाइएको छ। 

यस्तै प्रत्येक तालिम केन्द्रबाट मासिक अवैध रूपमा पैसा उठाउने गरेको, तालिक केन्द्रमा कार्यरत कर्मचारीलाई जबरजस्ती बीमा गर्न लगाएर २० लाख कमिसन खाएको आरोप लगाउँदै आयोगमा उजुरी दर्ता भएपछि आवश्यक छानबिनका लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगका एक अधिकारीले बताए। 

अहिले गृह मन्त्रालयले आवश्यक छानविन तथा अनुसन्धान सुरु गरेको बताएको छ। ‘हामीलाई जेठ ५ गते आयोगबाट उजुरीको छायाँकपीसहित आवश्यक कारबाही गर्नु भन्ने पत्र प्राप्त भएको थियो,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सोही पत्र र उजुरीको छायाँकपिका आधारमा हामीले अनुसन्धान सुरु गरेका छौं। अहिले अनुसन्धानकै क्रममा छ।’ यो समाचार नागरिक दैनिकमा छापिएको छ । 

प्रतिक्रिया