एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

राम्रो अनलाइन     १३ असार २०८३, शनिबार
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौँ–नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार  साँझ पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले हात्तीगौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।

वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू हरिहर दाहाल, रमन श्रेष्ठ, यदुनाथ खनाल, बिदुर सापकोटा, डा बिजय मिश्र, डा तपन कुमार दाहाल, दिपक खड्का लगायतका कानुन ब्यवसायीहरूले लगातार एक वर्षदेखि ठगी तथा आपराधिक बिश्वासघात गरी जग्गा बिक्री गरेको फिर्ता गराउन र टुङ्गरम स्कुलको ठगी भएको सम्पत्ति हिनामिना विरुद्ध खरो बहस गरिरहेका छन् । 

प्रतिक्रिया