‘सहमतिबाट मात्र निकास सम्भव छ’

राम्रो अनलाइन     २७ भदौ २०८२, शुक्रबार
‘सहमतिबाट मात्र निकास सम्भव छ’

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले  ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, धैर्य र सहमतिबाट मात्र निकास सम्भव हुने बताएका छन्।

नेता खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनप्रति समवेदना तथा सम्पूर्ण घाइतेहरूको शीघ्र र निःशुल्क उपचार गर्न माग गरे।

आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट र सर्वनाशका घटनाबाट मुलुक अहिले शान्तितर्फ फर्किरहेको उल्लेख गर्दै इतिहासमा जेनजी पुस्ताको आन्दोलनको समेत समीक्षा हुने भन्दै तात्कालिक अवस्थामा शान्ति कायम गरेर मुलुकलाई पुनःस्थापना र अग्रगतितर्फ लैजानै मुख्य कार्यभार रहेको बताए।

शान्त, संयमित र धैर्यवान बन्न आग्रह गर्दै नेता खनालले मुलुकलाई नयाँ निकासतर्फ अघि बढाउन सर्वदलीय र सर्वपक्षीय प्रयास जरुरी रहेको उल्लेख गरे। उनले भेटघाट, वार्ता र सहमतिबाट संविधानलाई आधार बनाएर साझा नीति तथा कार्यक्रम निर्धारण गर्नुपर्ने विचार व्यक्त गरे।
 
उनले सहमतिका आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनःगठन, पुनःस्र्थापना, समृद्धि र समाजवादको दिशामा अघि बढाउन आग्रह गरे।

प्रतिक्रिया