काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता र कार्यकर्ताबाट न्यूनतम रु १० का दरले सहयोग संकलन गरेर केन्द्रीय पार्टी कार्यालय पुनःनिर्माण गर्ने प्रस्ताव गरेका छन् ।
‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालय अवलोकन गर्दै गुरुङले सबै कार्यकर्ताले अपनत्व दिने गरी कार्यालय पुनःनिर्माण गर्नुपर्ने बताए । “देशभरका नेता–कार्यकर्ताबाट कम्तीमा रु १० सङ्कलन गर्ने, धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन्। यसरी अगाडि बढे कार्यालय बन्ने मात्र होइन, सबैको अपनत्व पनि हुनेछ,” उनको भनाइ थियो।
गुरुङले अब पार्टीलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको सुझावअनुसार अघि बढाउनुपर्नेमा जोड दिए । साथै, २०४६ सालयता लाभका पदमा पुगेका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा आफूले बारम्बार उठाएको स्मरण गर्दै, त्यस्तो छानबिन भएको भए आजको अवस्था नबन्ने जिकिर गरे ।