रक्तनलीका कारण देखिने समस्या रातो कोठी, अनुहार, घाँटी, ओठवरिपरि हुने रातो दाग हटाउन ‘पल्स्ड डाई लेजर’ प्रयोग गरिन्छ। यस्तो खालको लेजर भारतमा पनि निकै कम छन्। नेपालमा एउटा अस्पतालमा मात्र छ।
धुलिखेल अस्पतालमा छाला रोग विभागमा १० वर्षयता विभिन्न किसिमका लेजर प्रविधि प्रयोग हुँदै आएका छन्। सौन्दर्यसँग सम्बन्धित उपचारका लागि छालामा लेजर बढी प्रयोग गरिन्छ। अनावश्यक रौँ, कोठी, कालो दाग, स्ट्रेच माक्र्स र खत पुर्नका लागि धुलिखेल अस्पतालमा अत्याधुनिक लेजर प्रयोग गरिन्छ। तर, रक्तनलीका कारण देखिने समस्या रातो कोठी, अनुहार, घाँटी, ओठवरिपरि हुने रातो हटाउने प्रविधि चाहिँ हामीसँग पनि थिएन। औषधि उपचारबाट निको नहुने यस्तो समस्याका लागि विशेष प्रकारको लेजर चाहिन्छ।
भारतमा समेत सीमित मात्रामा रहेको ‘पल्स्ड डाई लेजर’ले रक्तनलीका कारण छाला रातो हुने समस्या निको पार्न तथा रातो कोठी हटाउन सकिने थाहा पाएपछि हामीले धुलिखेल अस्पतालमा यो लेजर ल्याएका हौँ। अमेरिकामा बनेको यो लेजर निकै महँगो पर्छ। रक्तनली फुटेर हुने समस्यामा यो लेजर निकै प्रभावकारी छ। जन्मजात घाँटी तथा गालाको छाला रातो हुने समस्यामा पनि यसले प्रभावकारी काम गर्छ। अपरेसनपछि घाउमा पलाएको मासु, मुसा, निको नहुने खालको डन्डीफोर हटाउन पनि यो प्रभावकारी हुन्छ।
५ सय ८५ देखि ५ सय ९५ न्यानो मिटर वेभलेन्थ भएको यो लेजरले छालालाई ड्यामेज नगरी रक्तनलीलाई हिट गर्छ। जुन ठाउँमा रक्तनली फुटेर छाला रातो देखिएको हुन्छ, त्यो ठाउँमा फुटेको रक्तनलीको मुख टाल्ने काम यसबाट गरिन्छ। यसले रगतको सम्पर्कमा पुगेपछि मात्र काम गर्ने हुनाले छालामा केही असर गर्दैन। फुटेको रक्तनलीको मुख सुकाइदिने काम गर्छ।
रातो कोठी निको पार्ने कुनै औषधि तथा प्रविधि नभएकाले बिरामीलाई मध्यनजर गरी पल्स्ड डाई लेजर नेपाल ल्याएका हौँ। अहिले हरेक दिन २० देखि ३० जना बिरामीको उपचार यो लेजर प्रविधिबाट गरिरहेका छौँ। रातो कोठी तथा दाग हटाउन विभिन्न अस्पातलबाट रिफर भएर धुलिखेल अस्पताल आउने बिरामीको संख्या बढिरहेको छ।
के हो लेजर ?
लेजर भनेको विशेष प्रकारको किरणको माध्यमबाट उपचार गरिने पद्धति हो। लेजर शब्द हिजोआज सामान्य भएको छ। यसले सबै रोगको उपचार छिनभरमै गर्न सक्छ भनेजसरी प्रचार–प्रसार पनि भइरहेको छ। तर, लेजरका पनि आफ्नै सीमा हुन्छन्। यसबाट सबै रोगको उपचार हुन्छ भन्ने सत्य होइन। सन् १९६० पछि छालाका विभिन्न समस्यामा लेजर प्रयोग हुन थालेको हो। छालाको उपचारमा प्रयोग हुन थालेपछि लेजरलाई कस्मेटिक प्रयोगसँग जोडेर हेरिने गरेको पाइन्छ।
विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडिएसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ। विशेष प्रकारको कृत्रिम प्रकाश जसलाई मेसिनको सहायताबाट एकत्रित गर्दा विशेष प्रकारको शक्ति निस्कन्छ। त्यही शक्तिको माध्यमबाट यो विधिमा उपचार हुन्छ। लेजरको प्रयोग कुनै अंगलाई काट्न, प्वाल पार्न, फोर्न, क्षति गर्न र उत्तेजित गर्न प्रयोग गरिन्छ। सबैभन्दा पहिला आँखाको अपरेसनमा प्रयोग भएको यो विधि अहिले मानव शरीरका विभिन्न भागको उपचारमा प्रयोग गरिन्छ। लेजर मेसिनबाट एकत्रित भएर जुन लाइट आउँछ, त्यसले ‘टार्गेट टिस्यू’लाई मात्र हिट गर्छ। यसले ‘सिलेक्टेड टिस्यू थर्मोलाइसिस’को आधारमा काम गर्छ।
लेजर दुई प्रकारका हुन्छन्, एब्लेटिभ र ननएब्लेटिभ। एब्लेटिभ लेजरले छालाको माथिल्लो तहमा घाउ बनाउँछ। ननएब्लेटिभले छालाको माथिल्लो भागमा घाउ नबनाई छालामा असर देखाउँछ। लेजरले अनुहारमा भएका कोठी, ट्याटू, मुसा, जन्मजात रहेका नीलो रङका कोठी निकाल्न तथा अनावश्यक रौँ हटाउन सकिन्छ। एब्लेटिभ लेजर गर्नुपर्दा लेजर गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएपछि कोठी तथा दागको प्रकार हेरेर कुन खालको लेजर प्रयोग गर्नुपर्ने हो, त्यो निक्र्यौल गरिन्छ।
लेजरमा किरणको माध्यमबाट ‘अनवान्टेड टिस्यू’लाई हटाउने गरिन्छ। यो पद्धतिमा ब्लेडले चिरेजस्तो नभए पनि दाग तथा धब्बा भएको ठाउँमा एक किसिमको सर्जरी नै भएको हुन्छ। नेपालमा विभिन्न प्रकारका लेजर भित्रिएका छन्। कस्मेटिक चाहना सँगसँगै लेजर गराउनेहरू पनि बढ्दै गइरहेका छन्। लेजरबाट विभिन्न थरिका समस्या डन्डीफोर बिग्रिएर बनेका खत, गर्भवती भएपछिको स्ट्रेच माक्र्स, भिजिभल नसा हटाउन सकिन्छ। बोसो निकाल्न, चाउरीपन कम गर्न, चायापोतो हटाउन पनि लेजर प्रयोग गर्ने गरिएको छ।
लेजर विभिन्न प्रकारका हुन्छन्। सीओटू, अर्बियमयाग, डावर्ड र एन्डीयाग। कस्तो समस्यामा कस्तो खालको लेजर प्रयोग गर्ने भन्ने कुरा विशेषज्ञ चिकित्सकले मात्र निक्र्यौल गर्न सक्छन्। अहिले आईपीएल (इन्टेन्स पल्स्ड लाइट) जुन एक प्रकारको उपकरण हो यसलाई लेजर हो भन्दै प्रचार गर्ने गरिएको छ। छालासम्बन्धी विभिन्न रोगमा लेजरले जादु गरेजस्तै क्षणभरमा चट पारिदिनेजस्ता भ्रामक प्रचारका कारण धेरैले आफ्नो छालाको भइरहेको सौन्दर्य पनि गुमाइरहेका छन्। आईपीएल एउटै मेसिनमा रौँ, डन्डीफोर, चायापोतो, चाउरिपन हटाउने भन्दै विभिन्न वेभलेन्थ फिक्सड गरिएको हुन्छ। जसलाई सामान्य तालिम लिएकाहरूले जथाभावी ढंगले चलाइरहेका छन्।
ब्युटिपार्लरहरूले समेत यस्ता आईपीएल मेसिन राखेर रौँ हटाउने, चाउरी हटाउने भन्दै सेवा दिन थालेपछि थप भ्रम र अन्योल सिर्जना भएको छ। वास्तवमा यो लेजर होइन। लेजरको प्रकारअनुसार त्यसमा छुट्टाछुट्टै वेभलेन्थ सेट गरिएको हुन्छ। कस्तो समस्यामा कुन वेभलेन्थको लेजर प्रयोग गर्नुपर्छ भन्ने जानकारी नभईकन लेजर प्रयोग गर्दा त्यसले नकारात्मक असर देखाउँछ। छालाको समस्यामा कसैले लेजर प्रयोग गर्दै छ भने त्यो व्यक्तिले लेजरबारे राम्रोसँग जानकारी हासिल गर्नुका साथै छालारोग विशेषज्ञ हुनु पनि जरुरी छ।
‘मेसिन हो, सिकेपछि जसले चलाए पनि हुन्छ’ भन्ने ढंगले लेजर प्रयोग गर्नु हुँदैन। अत्याधुनिक एउटै लेजर मेसिनको एक करोड रुपैयाँसम्म पर्छ। त्यसैले लेजर जहाँसुकै सर्वसुलभ ढंगले उपलब्ध छैन भन्ने बुझ्नु जरुरी छ। धेरैले आईपीएल मेसिनलाई नै लेजरका रूपमा प्रचार गरेकाले धेरैलाई लेजरसम्बन्धी भ्रम रहेको छ।
लेजर गरेपछि क्यान्सर हुन्छ भन्ने भ्रम पनि धेरैमा छ। तर, यो गलत हो। टार्गेट गरिएको टिस्यूलाई मात्र यो पद्धतिबाट उपचार गरिने भएकाले लेजर गरेपछि क्यान्सर हुन्छ भन्नु भ्रम मात्र हो। लेजर गरेका कारण क्यान्सर भएको कतै पनि प्रमाणित भएको छैन। छाला रोग विशेषज्ञ तथा लेजरसम्बन्धी तालिम प्राप्त चिकित्सकसँग लेजर सुविधा लिने हो भने लेजरपछि आउन सक्ने नकारात्मक असरबाट जोगिन सकिन्छ। इलेक्ट्रोकटरीले कोठी निकाल्ने कामलाई पनि लेजर गरेको भन्दै आउने थुप्रै छन्। यसले कोठी निकाल्दा ठूलो खाल्डो हुन्छ। त्यो पुर्नुप¥यो भन्दै अस्पातल आउने पनि छन्। लेजर गराउनुअघि लेजर गर्ने व्यक्ति छालारोग विशेषज्ञ हुन कि होइनन्, कस्तो खालको लेजर मेसिन प्रयोग भइरहेको छ, पहिला लेजर गराएकाको रिजल्ट कस्तो छ ? सबै राम्रोसँग बुझेपछि मात्र लेजर गराउनुपर्छ।