रङ र छालाको सम्बन्ध 

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ     ११ चैत २०८०, आइतबार
रङ र छालाको सम्बन्ध 


जतिबेला अहिले जस्तो व्यावसायिक रूपमा रङ उपलब्ध हुन्थेनन्, त्यतिबेला होलीमा पानको पातबाट, गुलाब पत्र, सयपत्री, पालुंगो, बेसार, मेहदी आदिबाट तयार पारिने प्राकृतिक रङ एकापसमा दलेर होली मनाइने गरिन्थ्यो । होली रङहरूको पर्व हो । यो दिन विभिन्न किसिमका रङ एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ । तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको केमिकलबारे जानकारी नहुँदा होलीलगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन् । होलीमा रङ खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ । 

कालो रङमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङमा पारो (मर्करी) तथा अब्रकको धुलो मिसाइएको हुन्छ । यी तत्वले हाम्रो छालामा असर गर्छन् । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ । कालो रङले किड्नीमा असर गर्छ । हरियो रङले आँखाको एलर्जी, अनुहार सुनिने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ । सिल्भर कलरले छालाको क्यान्सर हुने खतरा हुन्छ । नीलो रङले एलर्जी र रातोले स्किन क्यान्सर हुने खतरा हुन्छ । रङलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ । रङले छालामा प्रयत्क्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ । 

प्रत्यक्ष रूपमा गर्ने असर

रङमा केमिकल मिसिइने भएकाले यो छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ । जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा यो अझै बढेर जान्छ । रंङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ । एक्जिमाको रूपमा पनि देखापर्नसक्छ । कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ । 

अप्रत्यक्ष रूपमा गर्ने असर 

छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ । त्यसपछि छालाको इन्फेक्सन हुने खतरा हुन्छ । छाला पोल्ने, दाग बस्ने समस्या हुन्छ । डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ । कपालमा रङ लगाउँदा पछि कपाल झर्ने समस्या देखापर्छ । नङको कापमा रङ पर्दा नङ पाक्ने समस्या देखापर्छ । रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ । घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ । 

होली खेल्नुअघि

आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ । होली खेल्नुभन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ । हातखुट्टामा भ्यासलिन लगाए बेस हुन्छ । पूरै शरीर ढाक्ने गरी खुकुलो कपडा लगाउनुपर्छ । शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पुर्‍याउँदैन । होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ । 
होलीमा प्रयोग गरिने रङ छनोट गर्दा सकेसम्म कम केमिकल मिसिएको हुनुपर्छ । एक वा दुई घण्टा होली खेलेर नुवाउनुपर्छ । नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ । नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ । होलीमा रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ ।  

प्रतिक्रिया