सौन्दर्यसँग सम्बन्धित उत्पादन महिलाकेन्द्रित छन् । विश्वमा नाम चलेका सौन्दर्य सामग्री उत्पादक कम्पनीले महिलालाई ध्यानमा राखेर नै आफ्ना उत्पादन बजारमा पठाउने गरेका छन् । महिलाले मात्र प्रयोग गर्ने गाजल तथा लिपिस्टिकबाहेक अन्य सौन्दर्य सामग्री पुरुषका लागि पनि उपयोगी हुन्छन् । टेलभिजन तथा सिनेमामा काम गर्ने पुरुषले पनि मेकअप गर्दा फाउन्डेसन क्रिम लगाउनुपर्ने हुन्छ । अनुहार चम्किलो देखाउन विभिन्न किसिमका क्रिम लगाउनुपर्ने हुन्छ । पुरुष र महिलाको छालाको प्रकार फरक–फरक हुने होइन ।
छाला सुक्खा, तैलीय र सामान्य गरी तीन प्रकारको हुन्छ । केही सौन्दर्य सामग्री उत्पादक कम्पनीले पुरुष र महिलाको छालाको टाइप फरक–फरक हुने र त्यसका लागि सौन्दर्य सामग्री पनि फरक हुन्छ भनेर प्रचार गरिरहेका हुन्छन् । यो व्यापार बढाउने काइदा मात्रै हो । मेडिकल साइन्समा छालाको प्रकार महिला र पुरुषको भनेर छुट्याइएको हुँदैन ।
पुरुष आफ्नो अनुहारको छालामा डन्डीफोर, चायापोतो तथा दाग आउँदा चिन्तित हुन्छन् । ‘पुरुष भएर पनि अनुहारलाई लिएर चिन्ता गर्ने’ भनेर साथीभाइले खिसी गर्छन् भन्ने ठानेर बेवास्ता गर्ने धेरै भेटिन्छन् । सौन्दर्यको कुरा गर्दा समेत कपितय पुरुष लाज मान्छन् । आफ्नो समस्यालाई लुकाएर राख्ने पनि छन् । महिलाले जस्तै पुरुषले पनि आफ्नो अनुहारको छालाको प्रकृतिअनुसार चिकित्सकको सल्लाहमा क्रिम छनोट गरेर प्रयोग गर्ने हो भने अनुहारको छाला स्वस्थ र सुन्दर बनाउन सकिन्छ ।
सुन्दरतासम्बन्धी परामर्शका लागि आउने पुरुष एकदमै कम हुन्छन् । खास गरेर अनुहारको छालाको सुन्दरतालाई लिएर साह्रै कम पुरुष छालारोग विशेषज्ञकोमा पुग्ने गरेका छन् । सामान्य हेरचाह गर्दा सुन्दर राख्न सकिने छालालाई बेवास्ताकै कारण बिगार्ने धेरै छन् । कुन उमेरदेखि छालालाई बढी म्वाइस्चराइजर चाहिन्छ र कुन सनस्क्रिन प्रयोग गर्दा छालालाई घामको नकारात्मक प्रभावबाट मुक्त राख्न सकिन्छ भन्ने सामान्य जानकारी लिने हो भने पुरुषले पनि आफ्नो अनुहारको छालालाई सुन्दर राख्न सक्छन् । छालामा आउने चाउरी तथा चायापोतोका प्रकृति महिला र पुरुषमा एकै किसिमको हुने भएकाले उपचार पनि उस्तै विधिबाट गर्नुपर्छ । छालाको प्रकृतिअनुसार क्रिम, जेल वा अक्वा जेल के लगाउने ? त्यो छालारोग विशेषज्ञले सामान्य चेकजाँच गरेर परामर्श दिन सक्छन् ।
पुरुषहरू लुकी–लुकी क्रिम लगाउने तथा खुलेर चाहिँ म यो क्रिम प्रयोग गर्छु भन्न लाज मान्ने हुन्छन् । अनुहारमा क्रिम लगाउन लाज मान्नुपर्ने कुनै कारण छैन । छालारोग विशेषज्ञसँग भेटेर आफ्नो छालालाई सुट गर्ने क्रिम प्रयोग गर्ने हो भने कम खर्चमै अनुहारको छालामा चमक ल्याउन सकिन्छ । त्यसैले विज्ञापनको पछि लागेर पुरुषको छालाका लागि भनिएका महँगो क्रिम किन्नुको साटो छालारोग विशेषज्ञसँग परामर्श गरेर क्रिम लगाउने हो भने अनुहारको छालाको उचित स्याहार गर्न सकिन्छ ।