राष्ट्रपतिसँग छलफलमा बस्न नपाएपछि नाराबाजीमा उत्रिए जेनजी

राम्रो अनलाइन     २५ असोज २०८२, शनिबार
राष्ट्रपतिसँग छलफलमा बस्न नपाएपछि नाराबाजीमा उत्रिए जेनजी

काठमाडौं–शीतल निवासमा अहिले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग छलफल गरिरहेका छन् ।

हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरु छलफलमा सहभागी भएका छन् । केही व्यक्तिहरु भने भित्र प्रवेश गर्न पाएका छैनन् । भित्र वार्ता चलिरहँदा बाहिर रहेकाहरुले नाराबाजी गरेका छन् ।

पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरु बाहिरै रहेका छन् । भित्र प्रवेश नपाएका उनीहरुले केहीबेर नाराबाजी गरेका थिए ।

‘हामी प्रदेश संयोजकलाई भित्र छिर्न दिइएन । हिजो छिर्न दिने भनिए पनि आज रोकियो’, जेनजी अगुवा खेमराज साउदले भने।

शीतल निवासमा जारी छलफलका लागि जेनजीका तर्फबाट १७ जना प्रतिनिधि सहभागी हुने तय भएको थियो । पछि संख्या बढाइएको थियो ।

स्रोतका अनुसार २० बढी प्रतिनिधि छलफलमा सहभागी भएका छन् । छलफलमै सहभागी हुने भनी शीतल निवास पुगेका केही जेनजी भने अझै बाहिरै छन् ।

भित्र प्रवेश गर्न नपाएकाहरुले जेनजी अगुवा सुदन गुरुङले धोका दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया