काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहेका परिवारमा समवेदना प्रकट गरेका छन्।
'पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधैँ स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु', राष्ट्रपतिले भनेका छन् । राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १:३० बजे उनको निधन भएको हो। वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए।