प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले बनाए रणनीतिक संयुक्त मोर्चा

राम्रो अनलाइन     २९ माघ २०७७, बिहिबार
प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले बनाए रणनीतिक संयुक्त मोर्चा

प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार वाम घटकले रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका छन् । बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम गरी उक्त मोर्चाको घोषणा गरेका हुन् ।

मोर्चामा  विप्लव नेतृत्वको नेकपा, महोन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल 'आहुती' नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सामेल छन् । 

संयुक्त मोर्चाले संसदीय व्यवस्था खारेजी गर्दै जनगणतन्त्र, वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने बताएको छ ।

पार्टी माथि प्रतिवन्ध लागेका कारण विप्लव समूहको उपस्थिति विना नै तीन पार्टीका नेतृत्वले मोर्चाको घोषणा गरेका छन्। बिहीबार नै १५ सदस्यीय केन्द्रीय कमिटीको गठन गरेको जानकारी दिएका छन्। मोर्चाको केन्द्रीय कमिटीमा क्रान्तिकारी माओवादीबाट सिपी गजुरेल, रामसिंह श्रिस र पवनमान श्रेष्ठ रहेका छन्। त्यस्तै, विप्लव नेतृत्वको नेकपाका सन्तोष बूढा, नविनकुमार विश्वकर्मा, अज मोहम्मद छन्। 

कट्टेल नेतृत्वको नेकपाबाट कट्टेलसहित रामदुलार महतो र राजेश बान्तावा राखिएका छन्। त्यस्तै, वैज्ञानिक समाजवादी पार्टीबाट जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल रहेका छन्। बाँकी तीन सदस्य पछि थप गर्ने बताइएको छ।

मोर्चाले प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म नै समितिहरू गठन गर्ने जनाएको छ। मोर्चाले पहिलो चरणमा फागुन ६ गते बुटवल, फागुन १४ गते धनगढी, र फागुन १८ गते इटहरीमा सभा आयोजना गर्ने भएको छ।

प्रतिक्रिया