सानो बेला आफ्नो नाम गलत तरिकाले उच्चारण हुँदा केकी अधिकारी निकै दिक्क मान्थिन् । ‘‘मलाई किन गाह्रो नाम राखिदिएको ?’ भनेर बुबासँग धेरै पटक गुनासो गरेकी थिएँ,’ उनले भनिन् । उनका बुबा बद्री अधिकारी फिल्म र रंगमञ्चमा चिनिएको नाम हो । बुबाको जवाफ सुनाउँदै उनले भनिन्, ‘जब तिम्रो नाम धेरै चोटि उच्चारण हुन्छ, तब तिमीलाई सबैले सधैँ याद गरिरहन्छन् ।’
स्कुलमा उनका बुबा प्रिन्सिपल थिए । उनले त्यहीँ पढिन् । पढाइमा अब्बल केकी सधैँ प्रथम हुन्थिन् । ‘प्रिन्सिपलकी छोरी भएर फस्ट भएकी भन्नेहरू धेरै थिए,’ उनले थपिन्, ‘त्यो कुरालाई मैले एसएलसीमा स्कुल टप गरेर गलत प्रमाणित गरिदिएँ ।’ काठमाडौँ बौद्धकी केकीले ह्वाइटहाउस कलेजबाट प्लस टू, प्राइम कलेजबाट बीआईएम र प्रेसिडेन्टल कलेजबाट एमबीए पूरा गरिसकिन् ।
‘रंगमञ्चमा बुबाले गर्नुभएको संघर्ष मैले सानैदेखि देख्दै आएकी थिएँ,’ उनले भनिन्, ‘त्यसैले पनि मेरो झुकाव कलाप्रति बढ्यो ।’ प्लस टू सकेर एमबीबीएस तयारी गर्दैगर्दा उनले पत्रिकाको विज्ञापनको आधारमा डान्स रियालिटी सो ‘घिन्ताङ’ मा आवेदन दिइन् । ‘नृत्यमा औधी रुचि थियो,’ उनले भनिन्, ‘ट्रेनिङ भने लिएकी थिइनँ ।’
‘घिन्ताङ’मा उनी फस्ट भइन् । निर्णायक, गायक र नृत्य निर्देशकको नजरमा पर्न सफल भइन् । यो सबै कुरा उनका बुबालाई थाहा थिएन । एक दिन उनलाई ‘वनमा फुल्यो फूलैफूल’ गीतको रिमेकमा काम गर्न अफर आयो । ‘सानैदेखि सुनेको गीत, सुन्नेबित्तिकै आफूभित्रको कलाकार जागेर आयो,’ उनले भनिन्, ‘त्यो गीत गर्न बुबासँग मात्र होइन संसारसँग लड्ने आँट आयो ।’ उनले त्यो गीत गरी छाडिन् । यो गीतले त्यो बेला राम्रै लोकप्रियता बटुल्यो । ‘लक्ष्य तय गरेपछि आफूले होइन लक्ष्यले आफूलाई पछ्याउँदो रहेछ,’ उनले भनिन्, ‘बुबाले पनि रोकटोक गर्नुभएन ।’ अहिले उनका म्युजिक भिडियो पाँच सय नाघिसकेका छन् । ‘म्युजिक भिडियो र फिल्मबाट मैले नदेखको सपनामा बाँच्ने मौका पाएँ,’ उनले भनिन् ।
नेपाली फिल्म ‘स्वर’ बाट उनले फिल्म क्षेत्रमा डेब्यू गरिन् । बैशाख १४ मा प्रदर्शनमा आउन लागेको र उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ उनको १९ औँ फिल्म हो । त्यसबाहेक ‘आई एम सरी’, ‘मसान’, ‘बितेका पल’, ‘घामपानी’, ‘श्री ५ अम्बरे’, ‘राज्जा रानी’, ‘हाउ फन्नी’, ‘लभ सासा’, ‘महसुस’ आदि उनले गरेका फिल्म हुन् । ‘मसान’ फिल्म गर्ने प्रस्ताव आउँदा उनलाई आफूले एउटा ठूलै अवार्ड पाए जस्तो लाग्यो । ‘त्यस्तो अवसर जीवनमा कमै पाइन्छ,’ उनले भनिन्, ‘पछिल्लो समय मैले गरेको ‘लभ सासा’ पनि मलाई मन पर्ने फिल्म हो । त्यो फिल्मले मेरो अभिनय प्रतिको धारणा नै परिवर्तन गरिदियो ।’
लामो समयसम्म फिल्म क्षेत्रलाई योगदान दिने उद्देश्यले फिल्म निर्माणमा हात हालेको उनी बताउँछिन् । ‘जतिसुकै सिद्धान्तका कुरा गरे पनि अभिनेत्रीको आयु फिल्म क्षेत्रमा छोटो नै हुन्छ,’ उनले भनिन्, ‘निर्माता बन्दा पछिसम्म पनि यसै क्षेत्रमा आफ्नो योगदान दिन सकिन्छ ।’ हरेक फिल्म प्रदर्शनमा आउँदा उनलाई आफ्नो पहिलो फिल्म रिलिज भएको जस्तै लाग्छ । ‘आफूभित्रको हिस्सा त्यसमा दिएको हुन्छु,’ उनले भनिन्, ‘त्यसैले त्यसको माया लाग्छ ।’
उनी आफूलाई ‘एभरेज लुकिङ’ मान्छिन् । ‘हिरोइन हुने खालको लुक र हाइट मेरो छैन,’ उनले प्रस्टै भनिन्, ‘कस्ती फुच्ची रहिछ ! स्क्रिनमा त अर्कै देखिन्थ्यो’ यो मैले हरेक दिन पाउने प्रतिक्रिया हो ।’ कहिलेकाहीँ उनी सोच्थिन्– ‘म यो फिल्डको लागि बनेको होइन कि क्या हो ?’ केकीले थपिन्, ‘तर, मैले आफ्नो त्यही कमजोरीलाई बलियो पक्ष बनाएँ ।’ त्यसपछि उनले आफ्नो लुकभन्दा प्रस्तुतिमा ध्यान दिन थालिन् । हाइट र लुकको कारण फिल्म क्षेत्रमा आउन हिचकिचाउनेका लागि आफू उदाहरण साबित भएको उनी बताउँछिन् । ‘यो सोचलाई भत्काउनु मेरो लागि ठूलो चुनौती थियो,’ उनले भनिन्, ‘मलाई हिरोइन भनेर स्वीकार गर्न धेरै समय लागेको थियो । तर, त्यसलाई मैले गलत प्रमाणित गरेँ ।’ उनले यसैलाई आफ्नो जीवनको उपलब्धि मानेकी छिन् ।
उनी कहिल्यै क्यामेरासँग लजाइनन् । आफ्नो सफलतामा आत्मविश्वासले निकै काम गरेको उनको अनुभव छ । ‘जीवनको संघर्ष नै भविष्यमा मीठो कथा बन्छ’ भन्नेमा उनी विश्वस्त छिन् । ‘जसले कोसिस गर्दैन, त्यसले हार्छ,’ उनले भनिन्, ‘कोसिस गर्नेहरू कहिल्यै हार्दैनन् । मैले आफ्नो जीवनबाट सिकेको सबैभन्दा ठूलो पाठ यही हो । धेरै छन् जो चाहेर पनि मौका पाउँदैनन् । मैले मौका पाएँ । यसर्थमा म निकै भाग्यमानी छु ।’