प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

राम्रो अनलाइन     ०१ फागुन २०७९, सोमबार
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । यसअघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । आजै उनले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

विदेशसचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया