जनकपुरधाम । बढदै गएको कोरोना संक्रमणलाई दृष्टिगत गरी विद्यालय बन्द गर्ने सरकारको निर्णयलाई बेवास्ता गर्ने सप्तरीको राजविराजका ११ जना निजी विद्यालयका संचालक र प्रिन्सिपलहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी) तथा जिल्लाका डिएमसीसीले नयाँ भेरियन्ट सहितको तिव्रगतिमा बढदै गएको कोरोना संक्रमणको दृष्टिगत गर्दै वैशाख १० गतेदेखि विद्यालयहरु बन्द गर्ने निर्देशन दिएको थियो ।
सो निर्देशनलाई बेवास्ता गर्दै राजविराजमा विद्यालय संचालन गर्दै आएका ११ जना निजी विद्यालयका संचालक तथा प्रिन्सिपललाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा लक्ष्मी इंग्लिस बोर्डिङ्ग स्कुलका राजेश कुमार यादव, वैधनाथ कुमार झा, बुलन्द साह, ह्यापी ल्याण्ड सेकेण्ड्री स्कुलका शैलेन्द्र ठाकुर, जानकी सेकेन्डरी बोर्डिङ्ग स्कुलबाट हरिकिशन राम, एन्जलबाट नरेन्द्र प्रसाद देव, पिसजोन राजविराजबाट उमाकान्त साह र रिमा झा, ग्रिन इंग्लिसबाट मनोज यादव, लिटलबाट डा. कामन्त देव र ग्रिन इंग्लिसबाट मनोज यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयद्वारा गठित अनुगमन समितिले अनुगमनको क्रममा तिनीहरुलाई नियन्त्रणमा लिएको हो । राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोलीले अनुगमनको क्रममा तिनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने वा पहिलो पटकका लागि सम्झाई बुझाई छोडने भन्ने विषयमा छलफल भइरहेको प्रहरी उपरिक्षक धमलाले बताए ।