प्रचण्डकै नेतृत्व स्वीकार गरेर जयजयकारमा जनार्दन ! 

राम्रो अनलाइन     २४ पुस २०८१, बुधबार
प्रचण्डकै नेतृत्व स्वीकार गरेर जयजयकारमा जनार्दन ! 

काठमाडौं–माओवादी नेतृत्वबाट प्रचण्डलाई विस्थापित गर्ने भनेर फरक मतको अस्त्र फ्याँकेका जनार्दन शर्मा अन्ततः प्रचण्डकै नेतृत्व स्वीकार गरेर जयजयकार गर्न पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच साउनदेखि जारी अन्तरसंघर्ष बिनाकुनै ठोस सहमति वा उपलब्धिबिना सम्झौतामा टुंगिएपछि परिवर्तनका आकांक्षी धेरै नेता–कार्यकर्ताले आश्चर्य प्रकट गरिरहेका छन् । 

प्रचण्ड पक्षधर नेताहरुले भने मंगलबार सकिएको केन्द्रीय समिति बैठकबाट विजयोत्सव मनाएका छन् । उनीहरुले एकताको नयाँ सन्देश दिएको र अध्यक्ष प्रचण्डले उपमाहसचिव शर्माले उठाइरहेका केही मागलाई राजनीतिक प्रतिवेदनमै समेटेको दाबी गरेका छन्। बाँकी माग पनि महाधिवेशनमा लगेर पूरा गर्ने प्रतिबद्धता जनाएपछि गत साउनदेखिको विवाद कम्तीमा असारसम्मको लागि साम्य भएको उनीहरुको भनाइ छ ।


मंगलबार बैठकको अन्त्यमा जवाफी धारणा राखेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका तीन नेताको उदाहरण दिँदै आफूले पार्टीका नेताहरू सबैको विचार सुन्ने गरेको बताए । एक हदसम्म ओली निरंकुश बन्दै गएको र प्रचण्ड लचक एवं सम्झौतामुखी बन्दै गएको घटनाक्रमले देखाएको छ । खासगरी एमाले भीम रावल र विन्दा पाण्डेहरु फरक धारणा सार्वजनिक गरेकै आधारमा कारबाहीको शिकार भएका छन् भने प्रचण्डले फरक मत राख्ने जनार्दनसँग हातेमालो गर्न तयार भएका छन् ।


एकताका स्वयं प्रचण्डले नै जनार्दन पार्टी फुटाउन लागेको प्रचार गर्दै हिँडेका थिए । तर अहिले उनी जनार्दनलाई ुमैले तिमीलाई भीम रावल त बनाइनँ निु भन्दै एक प्रहार दुई सिकार गर्ने अवस्थामा पुगेका छन् । 


 ‘एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरूले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्कासन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो,’ जनार्दनलाई संकेत गर्दै प्रचण्डले भने, ‘हाम्रो पार्टीमा मतहरूलाई सम्मान गर्ने, आएका मतहरूलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोसिस गरियो।’

जनार्दनले साउन २६ गते स्थायी समिति बैठकमा माओवादी पार्टी निर्माणबारे भन्दै १२ पृष्ठ र अध्यक्ष प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै थप २ गरी १४ पृष्ठको प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा उनले २०४३ सालदेखि लगातार अध्यक्ष रहेका प्रचण्डलाई नेतृत्व छोड्न आग्रह गरेका थिए भने तत्काल विशेष महाधिवेशन बोलाउन र सबै कमिटीमा तेस्रो पुस्तालाई सांगठनिक नेतृत्व दिन माग गरेका थिए । सो प्रस्तावले माओवादी पार्टीमा खैलाबैला मच्चाएको थियो भने २०६९ पछि पहिलोपटक पार्टीभित्र आन्तरिक विवाद रहेको पुष्टि गरेको थियो। शर्माले लिखित प्रस्तावमा अध्यक्ष प्रचण्डको नामै राखेर सत्ता गठबन्धन फेरबदल गरिरहेको, प्रदेश सरकारलाई कमजोर बनाएको आरोप लगाएका थिए ।

उनको प्रस्तावले आफू स्तब्ध बनेको अध्यक्ष प्रचण्डले बताएका थिए । त्यसपछि जनार्दनलाई कार्बाही गर्नुपर्ने आवाज पनि प्रचण्डको निकट घेराभित्र उठेको थियो । तर, साउन ३१ गते फेरि बसेको बैठकले जनार्दनको माग सम्बोधन गर्ने निर्णय गर्दै नयाँ समझदारी बनाएको थियो । साउन ३१ गते सुरुमा पदाधिकारी र पछि स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले जनार्दनको प्रस्तावलाई केन्द्रीय समितिमा लैजान आफू तयार रहेको बताएका थिए । लगत्तै जनार्दनले पनि आफूनिकट नेताहरूलाई अध्यक्ष प्रचण्ड लचक भएको सन्देश पठाए । तर प्रचण्डले केन्द्रीय समिति बैठक नै राखेनन्। पटकपटक बैठक पर धकेलिरहे । उनको यो जनार्दनलाई गलाउने र उनका समर्थकहरुलाई अन्योलमा पार्ने रणनीति पनि थियो ।

अन्ततः प्रचण्डले आफ्नो सिट अर्थात् अध्यक्षको पद सुरक्षित राखी जनार्दनका बाँकी सबै तपसिलका मागहरु सम्बोधन गरेको घोषणा गरिदिए । प्रचण्डले तयार पारेको ३० पृष्ठको राजनीतिक प्रतिवेदनमा जनार्दनका कतिपय माग समेटेका छन् । जुन केवल नाराबाहेक अरु केही छैनन् । मुख्य कुरा पार्टीभित्र प्रत्यक्ष निर्वाचन विधिबाट नेतृत्व चयन हुनुपर्ने जनार्दनको माग थियो । त्यसलाई फासफुस पार्न प्रचण्ड सफल भएका छन् । अब उधारो विशेष महाधिवेशन त कहिले हुने कहिले । प्रचण्डले आफूलाई सुविधा परेको दिन महाधिवेशन गर्नेछन् र त्यतिन्जेल जनार्दनको पारो शून्य डिग्रीमा झरिसकेको हुनेछ ।
 

प्रतिक्रिया