काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाइका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशील रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् ।
सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यका साथमा उच्च सतर्कता र स्वास्थ्य मापदण्ड पुरा गरी ड्यूटीमा परिचालित हुन निर्देशन दिए । आफ्ना सबै युनिटको अवस्था बुझ्नका साथै सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनको लागी कडाईका साथ प्रस्तुत हुन समेत उनले निर्देशन दिए ।
नेपाल सरकारबाट प्राप्त निर्देशनलाई अक्षरशः पालना गर्दै आफ्नो युनिटको आन्तरिक व्यवस्थापन, सीमा नाकामा कडाई, अत्यावश्यक वस्तु ढुवानीमा सहजिकरण तथा उच्च स्तरको र प्रभावकारी ड्यूटी परिचालन गर्न समेत महानिरीक्षक खानालले निर्देशन दिए । चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले कार्य गर्न, त्रुटी रहित ढंगले काम गर्नुका साथै स्थानिय निकाय तथा अन्य सुरक्षा निकायसंगको सहकार्य र समन्वयमा सम्पूर्ण जनशक्ति परिचालन गराउन समेत उनले निर्देशन दिए ।
कर्मचारी संक्रमित हुन सक्ने तर्फ सचेत हुनु पर्ने बताउँदै उनले प्रदेशमा रहेका आफ्ना चिकित्सक मार्फत घुम्ती परामर्श शिविर संचालन गराउने व्यवस्था मिलाउनुका साथै आवश्यकता अनुसार उपत्यका स्थित नेपाल एपीएफ अस्पतालका चिकित्सकहरुसँग समन्वय गरी कार्य गर्न र अभिभावकीय जिम्मेवारी पुरा गर्न समेत निर्देशन दिए ।
लाईभ निर्देशनका क्रममा बाहिनीपतिहरुले आफ्ना(आफ्ना कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । यसका साथै उनीहरूले कोरोना संक्रमण नियन्त्रणको लागि भएका प्रयासका बारे समेत आ– आफ्नो योजना प्रस्तुत गरेका थिए ।