निर्मला कोइरालाको ‘अक्षरका यात्री’ सार्वजनिक

राम्रो अनलाइन     ०९ चैत २०८२, सोमबार
निर्मला कोइरालाको ‘अक्षरका यात्री’ सार्वजनिक

काठमाडौं – साहित्यकार तथा समालोचक निर्मला कोइरालाको समालोचनासंग्रह ‘अक्षरका यात्री’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कोइरालाको कृति प्रमुख अतिथि डा. कृष्णप्रसाद दाहाललगायतले सार्वजनिक गरे ।

प्रमुख अतिथि डा.दाहालले साहित्यकार कोइरालाको कृतिबारे बोल्दै साहित्य प्रतिष्ठानले गरेका कार्यक्रमहरूका विषयमा पनि चर्चा गरे । उनले प्रतिष्ठान विराटनगरकै साहित्यिक गहना भएको उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कृति र कृतिकारका विषयमा बोले । उक्त अवसरमा कृतिकार कोइरालासँगै साहित्यकारहरू भूषण ढुंगेल, डा. बाबुराम तिमल्सेना, खेम नेपाली, डा.मेदिनीप्रसाद शर्मा, गंगा सुवेदी, बलराम पोखरेल र गोकुल अधिकारीले कृतिमाथि आफ्ना धारणा राखे ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विगत ४४ वर्षदेखि विराटनगर क्षेत्रमा साहित्यिक क्रियाकलापमा सक्रिय छ । सार्वजनिक कृति प्रतिष्ठानले प्रकाशन गरेको १११औँ पुस्तक हो ।

प्रतिक्रिया