‘नीति तथा कार्यक्रमले समयको माग र चाहनालाई सम्बोधन गर्न सकेन’

राम्रो अनलाइन     २२ वैशाख २०८२, सोमबार

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोभिता गौतमले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बिनाइञ्जिनियरिङ मिस्त्रीले’ घर बनाएको जस्तो भएको भनी टिप्पणी गरेकी छिन्।

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले क्रसर उद्योगका कारण सिर्जना भएको क्षति नियन्त्रण एवं प्राकृतिक स्रोतको सदुपयोग गर्ने विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताइन् । साथै, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनको प्रगति विवरण पेस गर्न गौतमले माग गरिन्।

सांसद सूर्यमान दोङले जनताका खास विषय र समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित नभएको बताए । ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने नारा समावेश गर्न, रोजगार सिर्जना गर्ने र आर्थिक सुधारको विषयलाई विशेष ध्यान दिन उनले आग्रह गरे।

सांसद छिरिङ डम्डुल लामा भोटेले पूर्ववर्ती सरकारको नीति तथा कार्यक्रमका सकारात्मक विषय नसमेटिएकामा गुनासो गरे । उनले देशभित्रै रासायनिक मल कारखाना स्थापनाको विषय समेट्न, कर्णाली प्रदेशमा हवाई एम्बुलेन्स सञ्चालन गर्न, कर्णाली करिडोर निर्माणलाई गति दिने विषय समेटिनुपर्नेमा जोड दिए।

सांसद मनिष झाले नीति तथा कार्यक्रममा सत्तापक्षको चासो नभएको भन्दै बहसमा राज्यको अनावश्यक खर्च मात्रै भएको गुनासो गरे । अर्थतन्त्र सुधारका लागि गठित आयोगले दिएको सुझावसमेत नीति तथा कार्यक्रममा नसमेटिएको र चालु आवका धेरै विषय मिल्न गएको उनको भनाइ थियो ।

सांसद विनिता कठायतले नीति तथा कार्यक्रमलाई परम्परावादी र कर्मकाण्डी रहेको टिप्पणी गर्दै अनावश्यक संरचना खारेज गर्नेतर्फ ध्यान नदिइएको बताइन् । कर्णालीको जडीबुटी र फलफूल विकास र खस सभ्यताबारे सरकारले ध्यान नदिइएकामा विरोध जनाइन् । सांसद निशा डाँगीले नीति तथा कार्यक्रम सन्तोषजनक नभएको, समयको माग र चाहनालाई सम्बोधन गर्न नसकेको धारणा राखिन् । दक्ष युवालाई रोजगारीको प्रबन्ध, सहरी प्रदूषण नियन्त्रणमा प्रभावकारी व्यवस्थापन र विद्युतीय सवारीसाधनको सघन प्रयोगमा ध्यान दिन उनले सुझाव दिइन्।

सांसद चन्दा कार्की भण्डारीले सत्तारुढ दलभित्रै नीति तथा कार्यक्रममाथि मतैक्य नभएको पाइएको, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका बारेमा कुनै सम्बोधन नगरेको टिप्पणी गरिन् । देशभित्र रोजगारी सिर्जना, उद्योग व्यवसाय विस्तार, कृषि क्षेत्रको उत्पादकत्व बढाउनेतर्फ सरकारले विशेष चासो राख्नुपर्ने उनको भनाइ छ । 

सांसद शिशिर खनालले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको समस्या समाधानका लागि कुनै कार्यक्रम प्रस्ताव नगरिएको गुनासो गर्दै एकीकृत शीतभण्डार निर्माणमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य तथा आरोग्य पर्यटन, चलचित्रलगायत पर्यटनलाई ध्यान दिनुपर्ने, पदमार्गलाई थप व्यवस्थित बनाउनुपर्ने उनको जोड छ । भूराजनीतिमा देखिएको हलचललाई नीति तथा कार्यक्रमले नछोएको, गैरआवासीय नेपाली नागरिकका विषय समावेश नभएको सांसद खनालको भनाइ छ । 

प्रतिक्रिया