काठमाडौँ–पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालीन समस्या समाधान गर्ने भएकाले त्यसको विकल्प खोज्न नहुने उल्लेख गरे।
शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्दै नेता नेपालले निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए।
मुलुकमा भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक सङ्कट निरन्तर गहिरिँदै गइरहेको बताउँदै उनले सङ्कटबाट देशलाई जोगाउन समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नुपर्ने विचार व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्ने उद्देश्यले सत्रवटा वाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उल्लेख गरे।
विभिन्न ५० जनालाई पार्टी प्रवेश गराउँदै उहाँले अब सामाजिक रुपान्तरणका लागि आधारभूत सिद्धान्तका आधारमा देशलाई समाजवादतिर अग्रसर गराउनुपर्ने बताए।