मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री प्रचण्ड 

राम्रो अनलाइन     २० असार २०८०, बुधबार
मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री प्रचण्ड 


काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन्। आज दिउँसो नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा महिलाको भेलालाई सम्बोधन गर्दै उनले सरकारले गरेका राम्रा कामबाट तर्सिएर प्रतिपक्षीले संसद् अवरोध गरेकोे बताए। 

‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियोे । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ ।’

सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ थालेको उल्लेख गर्दै उहाँले सुशासनको लडाईंमा आफूहरुले जित्ने दाबी गरे । ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरूद्धको लडाइँ लडिरहेको छौँ, यो लडाइँमा हामी जित्छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ । विसं २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’

उनले युवा तथा महिलालाई सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्न निर्देशन दिए। आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको जनाउँदै उहाँले भ्रमणका क्रममा भएको सम्झौताबाट नेपालले ठूलो लाभ लिने बताए। 

‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ’, प्रधानमन्त्री दाहालले भने।
 

प्रतिक्रिया