काठमाडौंँ । नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सोमबार रातिसम्म काठमाडौंमा बसेको माओवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद युवराज दुलालले जानकारी दिए ।
सांसद दुलालका अनुसार बैठकले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने निर्णय गरेको छ । माओवादीले चाडै प्रदेशसभा बैठक बोलाउनको लागि आग्रह गर्ने र प्रतिपक्षको भूमिकामा रहेर अघि बढ्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले दलको नेतामा शालिग्राम जम्कट्टेललाई चयन गरेको छ । उनी केही समय अघिसम्म प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री थिए । उपनेता कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरिएको दुलालले जानकारी दिए ।