नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालेको छ ।
आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले एकताका लागि तयार भएको १०बुँदे सहमति अनुसार अघि बढ्न नेता नेपाल तयार नभएकाले उनले एकता नचाहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णयविपरीत उभिएकाले पार्टीमा फर्किने संकेत नदेखाएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।
'हामीले उहाँलाई भेट गरी संस्थागत निर्णय अनुसार अघि बढ्न आग्रह गर्यौं । उहाँले एक्लै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभयो । यो सबै कुराले उहाँ पार्टीमा फर्किन नचाहेको संकेत गरेको बैठकको निष्कर्ष छ,' उनले भने ।
बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई पार्टीमा स्थान नहुने पनि निष्कर्ष निकालेको छ । १०बुँदे सहमतिको उल्लंघन गर्दै विश्वासको मत दिएमा पार्टीमा कुनै स्थान नहुने निष्कर्ष बैठकले निकालेको प्रवक्ता ज्ञवालीले बताए ।
'आफ्नो पार्टीको सरकार ढालेर फरक प्रक्रियाबाट प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवालाई विश्वासको मत दिएमा उहाँहरूलाई पार्टीमा कुनै स्थान हुनेछैन । बाँकी निर्णय मतदान प्रक्रिया सम्पन्न भएपछि आउनेछ,' उनले भने ।