काठमाडौँ–जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा आज काठमाडौँको भृकुटीमण्डप गुञ्जायमान भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।
आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन्।
कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको हो । यो कार्यक्रम अन्यभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनुभएका एमालेको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए।
“देशैभरबाट काठमाडौँ आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ । कार्यक्रममा सहभागी हुन काठमाडौँका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपतर्फ आइरहेका छन्”, उनले भने।
करिब एक लाख युवा सहभागी हुने योजनाका साथ आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र विभिन्न युवा नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुहाङ नेम्वाङ, काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन्। कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने संयोजक ढुङ्गेलले जानकारी दिए।