करिश्मा भन्छिन्, ‘जीवनसँग मलाई कुनै गुनासो छैन’

राम्रो अनलाइन     ०३ जेठ २०७८, सोमबार
करिश्मा भन्छिन्, ‘जीवनसँग मलाई कुनै गुनासो छैन’

एक समय नेपाली सिने जगतमा चर्चाको शिखरमा पुगेकी अभिनेत्री हुन्, करिश्मा मानन्धर । एउटा जमाना यस्तो थियो, राजेश हमाल र करिश्मा मानन्धरबिना फिल्म नै बन्दैन्थे । यो जोडी नभएको सिनेमा पाउन मुश्किल थियो । 

तर, समय सधैँ  करिश्माको बसमा रहेन । समयको चक्र घुमिरह्यो । त्यो चक्रसँगै उनको सिनेयात्रा अघि बढ्यो । करिब आधा दशक अमेरिका बसिन्, उनी । त्यसपछि विभिन्न फिल्ममा काम त गरिन् तर, दर्शकको ऊबेलाको माया पाउन सकिनन् । केही समय उनी राजनीतिमा पनि सक्रिय भइन् । 

ललितपुर, झरुवासारीमा ४३ वर्षअघि जन्मिएकी उनी २०४२ सालमा पहिलो नेपाली सिनेमा ‘सन्तान’मा अभिनय गर्दा १४ वर्षकी थिइन् । भुवन केसीसँग गरेको अभिनय उनका लागि सिने क्षेत्रको पहिलो खुड्किलो बन्यो । त्यसपछि ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘भाउजू’, ‘साथी’, ‘रणभूमि’, ‘बसन्ती’, ‘बासुदेव’लगायत दर्जनौँ हिट फिल्म दिइन् । सयौँ फिल्ममा अभिनय गरिन् । 

सन् २००७ मा उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी उनले निर्देशक विनोद मानन्धरसँग विवाह गरिन् । चार दशकको उमेर पार गरेपछि उनले छुटेको स्कुलको पढाई पूरा गरिन् । आफ्नो जीवनबाट निराश नभएको उनको भनाइ छ । भन्छिन्, ‘जीवनसँग मलाई कुनै गुनासो छैन । सिनेमा क्षेत्रमा जे गरेँ राम्रो गरेँ ।’ उनलाई पहिला जीवन उत्सवजस्तो लाग्थ्यो । गम्भीर मुद्रामा उनी भन्छिन्, ‘जीवन उत्सवजस्तो लाग्थ्यो । अहिले थाहा पाएँ, जो सँग पुगीसरी छ त्यसका लागि मात्र जीवन उत्सव रहेछ । जो सँग केही छैन उनीहरूको लागि केको उत्सव ?’ 

लाखौँ दर्शकको मनमा बस्न सफल अभिनेत्रीको जीवनप्रतिको बुझाइ गहिरो लाग्छ । उनी पहिला सकारात्मक सोच्नुपर्छ भन्थिन् मात्र । तर, अहिले त्यो दृष्टिकोणमा परिवर्तन गरेकी छिन् । भन्छिन्, ‘सकारात्मक सोच्नुपर्छ । सब ठीक हुन्छ भन्थेँ पहिला । तर, अहिले बुझ्दैछु पोजिटिभ हुँदाहुँदै कतिपय कुरा नहुँदो रहेछ ।’ 

 तत्कालिन नयाँ शक्ति पार्टीको नेतृको रूपमा सक्रिय हुँदा उनी देशका विभिन्न ठाउँमा पुगिन्  । मधेशका मुसहर बस्तीमा समेत पुगिन् । डोमको बस्तीमा पुगिन् । उनी भन्छिन्, ‘मुसहरहरू  अझै गरिबीको रेखामुनि छन् । २१ औँ शताब्दीमा पनि नेपालीहरूलाई यति पछाडि देख्दा दुःख लाग्यो । कसैको खुट्टामा चप्पल छैन । आङ लुगासमेत छैन । अरू बोल्दा जिल्ल परेर सुनिरहेका हुन्छन् । तराई निकै पछाडि भएको महसुस गरेँ ।’

करिश्माले सिनेमाका दृश्यमा विधुवा, टुहुरा, दुःखी मान्छेको भूमिका गरिन् । तर, वास्ताविक जीवनमा दुःख कस्तो हुन्छ मसहुस गरिनन् । जीवन सिनेमाको दृश्यजस्तो मात्रै नरहेको उनको बुझाइ छ । भन्छिन्, ‘सिनेमामा धेरै व्यस्त भएँ । वास्तविक जीवनमा दुःख कस्तो हुन्छ भोग्ने अवसर पाइनँ ।’ रिलको जीवनभन्दा रियल जीवन भोग्न अमेरिका गएको उनी बताउँछिन् । ‘बिहानदेखि बेलुकीसम्म फिल्मको काम मात्रै । जिन्दगीलाई हेर्ने फुर्सद भएन । त्यही भएर म भागेर जीवन बुझ्न अमेरिका गएकी हुँ ।’ समाजलाई बुझ्ने अवसर नपाएको उनी बताउँछिन्, ‘सुटिङ प्रायः सुन्दर लोकेसनमा हुन्थ्यो । मान्छे देखेर मान्छे तर्सिने ठाउँमा पनि पुगेँ । कुरा गर्न जाँदा कान्लैकान्ला फाल हान्दै भागेको पनि देखेँ । त्यस्तो पनि रहेछ हाम्रो मुलुकमा । आजसम्म वास्तविक समाज बुझ्नै पाएको रहेनछु ।’
सिनेमा पहिलाको जस्तो नभएको उनी बताउँछिन् । आर्यन फेसको दबदबा रहेको क्षेत्रमा दयाहाङ राईलगायत अन्य फेसको ‘भ्यालु’ बढ्नु सुखद भएको उनी बताउँछिन् । भन्छिन्, ‘हिजो आर्यन फेस मात्रै हुँदा नेपाली सिनेमाले बजार गुमाएको थियो । आज दयाहाङ राई लगायतको आगमनले नेपाली बजार ठूलो भएको छ ।’ मधेशबाट समेत राम्रो कलाकार आउनुपर्ने विचार करिश्माको छ । भन्छिन्, ‘तराईको बजार हामीले अहिलेसम्म आफ्नो पक्षमा ल्याउन सकेका छैनौँ । त्यहाँबाट पनि नेपाली सिनेमामा कलाकार आउनुपर्छ ।’ सबैतिरको फेस आउँदा मात्रै सिंगो नेपालको प्रतिनिधित्व हुने उनको बुझाइ छ । 
 

प्रतिक्रिया