नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिने बताएका छन् । आफू नेतृत्वको पार्टीको सुदूरपश्चिम कमिटीले शनिबार धनगढीमा आयोजना गरेको बृहत् विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेकपा, कांग्रेस र मधेसवादी दलहरू मिलेर ओलीलाई दुईतिहाइले कारबाही गर्न सकिन्छ’, उनले भने, ‘तर हामी सर्वोच्चको फैसलालाई कुरिरहेका छौँ । आशा छ अदालतले सही फैसला गर्नेछ ।’
विरोधसभाको अध्यक्षता हालै नियुक्त सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशीले गरेका थिए । कार्यक्रममा स्थायी कमिटी सदस्य भीम रावल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, पार्टी संयोजक लक्ष्मीदत्त जोशीले पनि सम्बोधन गरेका थिए ।
मुख्यमन्त्री भट्ट यसअघि धनगढीमै भएको ओली समूहको सभाका क्रममा प्रधानमन्त्रीको स्वागत गर्न विमानस्थल गएका थिएनन् । भट्ट शुक्रबार साँझ माधव नेपाल र शनिबार बिहान दाहालको स्वागतमा धनगढी विमानस्थल पुगे । नेपाल शुक्रबार साँझको उडानबाट धनगढी आएका थिए । उनको स्वागतका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र पाँचै जना मन्त्री विमानस्थल पुगेका थिए ।
शनिबार बिहानको विमानबाट आएका दाहालको स्वागतका लागि पनि मुख्यमन्त्री र सिंगो मन्त्रिमण्डल विमानस्थल पुगेको थियो । मुख्यमन्त्रीको सचिवालयले यसअघि ओली समुहको आमसभाबारे आधिकारिक जानकारी नआएको र गुटको भेला भएकाले विमानस्थल र आमसभामा नभएको प्र्रतिक्रिया दिएको थियो ।