काठमाडौँ– जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद वीरेन्द्रप्रसाद महतोले मुलुकमा लोकतन्त्र प्राप्त भएको १९ वर्ष बितिसक्दा पनि जनताले आधारभूत सुविधासमेत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा उनले जनताले संविधानअनुसार आधारभूत अधिकार प्राप्त गर्न नसक्दा लोकतन्त्रको अनुभूति हुन नसकेको उल्लेख गरे । राज्यले सेवा प्रवाह सहज नबनाउँदा जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले दलहरु सत्ता र शक्तिको खेलमा लाग्दा नागरिक संवैधानिक अधिकारबाटसमेत वञ्चित हुनुपरेको बताए ।
उनले भने, ‘राजनीतिक अस्थिरता, सरकारी निकायबीचको समन्वयमा अभावमा जनताले पाउनुपर्ने सामान्य अधिकार पनि पाउन सकेका छैनन् ।’ उनले आजदेखि सुरु भएको संसद्को वर्षे अधिवेशनबाट शिक्षा, प्रहरी र निजामतीसम्बन्धी ऐन जसरी भए पनि पास गर्नुपर्नेमा उनले जोड दिनुभयो । निजी चिकित्सकहरुको मागप्रति सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।
‘सङ्घीय सदनमा सरकारी र निजी गरी ३२ वटा विचाराधीन विधेयक पनि यही वर्षे अधिवेशनमा टुङ्गो लगाउनुपर्नेछ, साथै अबको बजेट विकासमुखी हुनुपर्छ, लोकप्रियभन्दा पनि व्यावहारिक बजेट आउनु आजको आवश्यकता हो’, उनले भने ।
सांसद महतोले बैंक तथा वित्तीय संस्थाको व्यवसायलाई पनि सहायता हुनेगरी विकासमा खर्च गर्ने खालको बजेट आउनुपर्नेमा जोड दिए । देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उल्लेख गर्दै उनले सरकारले पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले स्रोत सुनिश्चितता नगरी बजेट ल्याउँदा समस्या उत्पन्न भइरहेको बताउँदै आर्थिक सङ्कुचनको अवस्थालाई ध्यानमा राखी बजेट बनाउनुपर्ने बताए ।