जनमोर्चाका सांसदले हस्ताक्षर नगरेपछि विपक्षी गठबन्धन तनाबमा

राम्रो अनलाइन     २८ वैशाख २०७८, मङ्गलबार
जनमोर्चाका सांसदले हस्ताक्षर नगरेपछि विपक्षी गठबन्धन तनाबमा

पोखरा । जनमोर्चाको केन्द्रीय नेतृत्वको निर्णय अनुरुप प्रदेश सांसदहरूले हस्ताक्षर नगरेपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धन तनाबमा परेको छ । विपक्षी गठबन्धन बनाएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले राष्टिय जनमोर्चालाई कुरिरहेका छन् ।

तर, केन्द्रको निर्णय प्रदेशका जनमोर्चाका सांसदले नमानेपछि विपक्षी गठबन्धनबाट कांग्रेस दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्छन् कि फेरि पृथ्वीसुब्बा नै दोहोरिन्छन् भन्ने अन्यौल सृजना भएको छ । 

मुख्यमन्त्री पृथ्वीसुब्बाले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । जनमोर्चाकै साथ पाउने आशले नयाँ सरकार बनाउन खुट्टा उचालेका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी अन्यौलमा पारेको छन् । 

अविश्वासको प्रस्तावमा समर्थन गर्ने जनाएको जनमोर्चाका केन्द्रीय नेताले नयाँ सरकार गठन गर्न आइतबार वा सोमबारसम्म हस्ताक्षर गर्ने बताएका थिए । कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन त्यहीअनुसार तीन दलले दुई दिनदेखि २८ सांसदको हस्ताक्षरको फाइल बोकेर जनमोर्चालाई पर्खिरहेको छ । तर, जनमोर्चाका सांसदभित्र चर्किएको द्वन्द्वले विपक्षीलाई सशंकित बनाएको छ ।

गण्डकीमा कुनै पनि दलको बहुमत नभएकाले संविधानको धारा ७६ (१) एकल बहुमतको सरकार बन्ने सम्भावना छैन । त्यसकारण अब धारा ७६(२) अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्न सक्छन् ।

१ स्वतन्त्रको समर्थनसहित २८ जना सांसद रहेको एमाले गण्डकीको ठूलो दल हो । कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जनता समाजवादी पार्टीका २ सांसद गरी २८ जना नयाँ सरकार गठन गर्ने दाउमा छन् । तर, त्यसका लागि जनमोर्चाले साथ नदिई सम्भव छैन । यदि जनमोर्चाले साथ दिइहाल्यो भने पनि ३० दिनभित्र विश्वासको मत लिंदा जनमोर्चाले साथ नदिने हो कि भन्ने डर विपक्षीलाई छ ।

नयाँ सरकार बनाउन हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विषयमा जनमोर्चाकै सांसद विभाजित छन् । सुरुदेखि नै मुख्यमन्त्री गुरुङसँग नजिक रहेका जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाही नयाँ सरकार गठन गर्न हस्ताक्षर बुझाउने पक्षमा छैनन् । सचेतक पियारी थापाले दलका नेता थापा र अर्का सांसद खिमविक्रमलाई ह्वीप नै जारी गरेकी छन् ।
 

प्रतिक्रिया