सुन्दर ओठले महिलाको सौन्दर्यमा थप निखार ल्याउँछ। गुलाबी ओठ निकै सुन्दर देखिन्छन्। ओठ संवेदनशील हुने भएकाले यसलाई आफ्नो प्राकृतिक स्वरूपमा जोगाइराख्न गाह्रो छ। जाडोको चिसो हावाले गर्दा ओठ सुक्खा हुने, फुट्ने आदि हुन्छ। विभिन्न किसिमको लिपस्टिक लगाउने तथा खानपानमा ध्यान दिन नसक्दा ओठको सुन्दरता बिग्रिरहेको हुन्छ।
सुन्दर ओठका लागि केही उपायः
-ओठलाई गुलाबी, मुलायम, चिल्लो बनाउन र ओठको कालोपन हटाउन ताजा गुलाबका पातलाई पिसेर ग्लिसरिन या घिउमा मिलाउनुहोस्। राति सुत्ने बेला ओठमा लगाउनुहोस्।
–ओठमा कागतीको रस र नरिवलको तेल मिसाएर लगाउनाले ओठको कालोपन हट्छ।
–बदाम घोटेर राति सुत्ने बेला दल्नाले ओठ चम्किलो बन्छ।
–नीमको बोक्राको लेप लगाएर सुत्नुहोस्। ओठ आफ्नो वास्तविक रूपमा आउनेछन्।
–नुहाउनुअघि हत्केलामा एक चौथाइ चम्चा बदामको तेल लिएर औँलाले हत्केलामा रगड्नुहोस र त्यसपछि ओठमा यो तेलले मालिस गर्नुहोस्। ओठका लागि यो निकै लाभप्रद हुन्छ।
–ओठको कालोपन हटाउन एक सानो चम्चा दूधमा कागतीको रस र अलिकति दही मिलाएर लगाउनुहोस्। पाँच मिनेटपछि धुनुहोस्।
–गुलाबका पात पिसेर हप्तामा एक पटक ओठमा लगाउनुहोस्। यसबाट ओठमा निखार आउनेछ र ओठ गुलाबी बन्नेछ।
–गोलभेँडाको रसमा चिल्लो पदार्थ मिलाएर ओठमा लेप लगाउनाले ओठ फुट्ने छैन र लाली बनिरहनेछ।
–गुलाबका पातलाई मक्खनसँग मिलाएर ओठमा लगाउनाले ओठ निकै सुन्दर बन्छ। दहीलाई अलिकति मनतातो पारेर लगाउनाले ओठ मुलायम हुन्छ।
–चन्दन घोटेर मक्खन मिलाएर ओठमा लगाउनुहोस्। ओठमा कोमलता र चमक आउनेछ।
–नुन र मह मिलाएर ओठमा लगाउनाले खस्रोपन हट्छ र ओठ फुट्दैन।
–हरेक दिन काँचो दूधको फिँज लगाउनाले ओठ सुक्दैन। ओठमा चमक रहिरहन्छ।
–लिपस्टिक लगाइसकेपछि ओठमा बरफ दल्नुहोस्। यसबाट लिपस्टिक अधिक समयसम्म रहन्छ।
–लिपस्टिक लगाइसकेपछि अलिकति भ्यासलिन क्रिम लगाउनाले ओठमा चमक आउँछ।
–ओठमा घाउ–खटिरा आयो भने जिरालाई पिसेर ओठमा लेप लगाउँदा आराम मिल्छ।
–मक्खनमा केसर मिलाएर लेप गर्नाले ओठमा प्राकृतिक गुलाबी झल्किन्छ।
–ओठ अधिक गुलाबी गर्न दैनिक ओठमा मह लगाउनुहोस्।
–टमाटर, कागतीको रस, ग्लिसरिन बराबर मात्रामा मिलाएर राति सुत्ने समयमा लगाउनाले ओठ नरम र सुन्दर बन्छ।
–ओठ फुट्यो भने काँचो दूधमा कागतीको रस हालेर लगाउनुहोस्। १० मिनेटपछि धुनुहोस्।