गायिका दिलमायाको हत्या भएको प्रहरीको दाबी 

राम्रो अनलाइन     ०७ साउन २०७९, शनिबार
गायिका दिलमायाको हत्या भएको प्रहरीको दाबी 

 

काठमाडौं– रहस्यमय तरिकाले मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या नै भएको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले सुनारको हत्या अभियोगमा मुद्दा चलाउन राय दिएकोमा जिल्ला सरकारी वकिल कार्यालयले त्यसैबमोजिम अदालतमा मुद्दा दायर गरेको छ ।

दिलमायाका प्रेमी भनिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठविरुद्ध जन्मकैद माग गर्दै अभियोगपत्र दर्ता भएको छ । असार ११ गते दिलमाया काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् । त्यसपछि असार १० गते राति दिलमायासँगै सुतेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । श्रेष्ठले मध्यरातमा दिलमाया झुन्डिरहेको देखेपछि खाटमा झारेर आफू निस्किएको भन्दै हत्या आरोप अस्वीकार गरेका छन् ।

यता पोस्टमार्टम रिपोर्टले पनि दिलमायाको झुन्डिएर ज्यान गएको तथा शरीरका बाहिरी र भित्री भागमा कुनै चोटपटक नरहेको देखाएको छ । यद्यपि प्रहरी श्रेष्ठले दिलमायाको हत्या नै गरेको निष्कर्षमा पुगेको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा श्रेष्ठले नै हत्या गरेको हो भन्ने किसिमले केही आधारहरु देखाएको छ । विवाहित श्रेष्ठ परिवारसहित गोठाटारमा सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

प्रहरीका अनुसार लोकदोहोरीमा काम गर्ने दिलमाया लामो समयदेखि त्यसमा जान छाडेकी थिइन् । श्रेष्ठले बाहिर निस्कन नदिएको र आफूसँग समेत लिएर हिँड्न नमान्ने गरेको प्रहरीको दाबी छ ।

यस्तै श्रेष्ठले दिलमाया झुन्डिएको बताए पनि दिलमाया लडेको अवस्थामा भेटिनु र उनी राति नै भाग्नुलाई पनि शंकास्पद मानेको छ । दिलमायाले झुन्डिन प्रयोग गरेको भनिएको सल लुकाउनुलाई पनि प्रहरीले श्रेष्ठले हत्या गरेको आधार मानेको छ ।

यस्तै त्यस रात १ बजे दिलमायाको फेसबुक अकाउन्टमा लेखिएको सुसाइड नोटजस्तो स्टाटस सूर्य आफैले लेखेको हुनसक्ने र दिलमायाको मोबाइल अझैसम्म नभेटिनुले उनको हत्या नै भएको निष्कर्ष प्रहरीले निकालेको हो ।

सुर्खेत स्थायी घर भएकी दिलमायाको करिब १० वर्षअघि श्रीमानसँग सम्बन्धबिच्छेद भएको थियो । त्यसपछि केही वर्ष खाडीमा काम गरेर उनी नेपाल फर्कीएकी थिइन् । त्यसपछि काठमाडौंका दोहोरी साँझहरुमा उनले दोहोरी गाउने गरेकी थिइन् ।

लकडाउनका समयमा चरम आर्थिक संकटमा पुगेकी दिलमायाले यसअघि एकपटक विष सेवन गरेर आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

प्रतिक्रिया