काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल, झलनाथ खनाल समूहले शुक्रबारका लागि आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएको छ ।
समूहका नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए । बैठक काठमाडौंमा बस्ने भनिए पनि कहाँ बस्ने भन्ने स्थानको तय भएको छैन ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने भट्टराईले बताए ।
यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीले मागेको स्पष्टिकरण पनि तयार पारेका छन्। ओली समूहले केन्द्रीय समितिको बैठकबाट वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण रोध्ने निर्णय गरेको थियो ।
त्यही निर्णय बमोजिम महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरण सोधिएका नेता सुरेन्द्र पाण्डेले स्पष्टिकरण तयार भइरहेको जानकारी दिए।
यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको आरोप लगाउँदै आएका थिए ।
सोमबार काठमाडौंमा बसेको नेपाल समूहका काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो ।