एमाले बलियो शक्तिको रुपमा आउँछ : महासचिव पोखरेल

राम्रो अनलाइन     २० भदौ २०८१, बिहिबार
एमाले बलियो शक्तिको रुपमा आउँछ : महासचिव पोखरेल

 

काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताएका छन्। 

लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै उनले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताए । बिहीबार सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आफूहरूको आशय दुईदलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको जानकारी दिए। 

राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने उनको भनाइ थियो । तर कांग्रेस–एमालेले दुईदलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट पारे । महासचिव पोखरेलले युवामा निकै निराशावाद पलाएको र ती युवालाई तत्काल राज्यले रोजगारी दिने अवस्थासमेत नरहेको बताए । 

उनले एमाले–कांग्रेसको सरकार बनेपछि राजस्व वृद्धि हुन थालेको दाबी गरे। साथै उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको आरोप लगाउनुभयो । ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन’ उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन।’

प्रतिक्रिया