काठमाडौँ–सरकारले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले किसानहरूलाई आर्थिक वर्ष २०८१÷८२ मा भुक्तानी दिन बाँकी रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण दिन स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
यस्तै मन्त्रीपरिषद् बैठकले पेरिस पाराओलम्पिकमा कास्यपदक जिती नेपालको गौरवलाई स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद सहित सम्मानित गर्ने निर्णय गरेको छ ।
साथै बैठकले पलेशा गोवर्धनका प्रशिक्षकलाई ५ लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापकका लागि २ लाख ९२ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री गुरुङले बताए। मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णयहरू भने भोली दिउँसो ३ बजे सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सञ्चार मन्त्री गुरुङले बताए ।