दमदार दीपाशा

राम्रो अनलाइन     ०७ जेठ २०७८, शुक्रबार
दमदार दीपाशा

सुर्खेत, वीरेन्द्रनगरकी दीपाशा बिसी अभिनेत्री तथा मोडल हुन् । डेढ दशकअघिदेखि अभिनय यात्रा थालेकी उनले सयौँ म्युजिक भिडियो र आधा दर्जन फिल्म खेलिसकिन् । यी अभिनेत्रीसँग अभिनय गर्दाका तीतामीठा पल अनगिन्ती छन् । सफलताको यो बिन्दुसम्म आइपुग्न उनले कैयन हन्डर र ठक्कर खाएकी छन् । 

दीपाशा स्कुलमा चञ्चले स्वभावकी थिइन् । नाच्न औधि रुची राख्ने, अभिनय पनि त्यस्तै राम्रो गर्ने उनी सानैदेखि कलाकार बन्न चाहन्थिन् । घण्टौँ ऐना हेर्थिन् अनि कलाकार बन्ने सपना मनमा सजाउँथिइन् ।  अन्ततः त्यही सपनाले उनलाई काठमाडौँमा ल्याइपु¥यो । 

कलाकार बन्छु भन्दै पहिलो पटक २०६४ सालमा काठमाडौँ आउँदा यहाँ उनका आफन्त कोही थिएनन् । चिनजानको व्यक्ति पनि कोही थिएन । निकै सास्ती भोगिन् । भन्छिन्, ‘मैले धेरै दुःख भोग्नुप¥यो । कोही चिनेको थिएन काठमाडौँमा । तर, भगवान्ले तँ आट्, म पु¥याउँछु भन्छन् नि, त्यस्तै भयो मेरो जीवनमा ।’ उनले काठमाडौँमा नुवाकोटकी साथी कौसिला भेटिन् र उनैको साथ र सहयोगमा कलाकारितामा संघर्ष गर्न थालिन् । 

उनलाई आफ्ना बाल्यकालीन दिनहरू फर्केर आएदेखि हुन्थ्यो भन्ने लाग्छ । उनी स्कुलको प्रत्येक अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थिन् । त्यहीँबाट उनको कलाकारिता सुरु भयो । स्कुल पढ्दापढ्दै सडकनाटकहरू गर्न थालेपछि अभिनयमा मोह जाग्यो । त्यही मोहले उनलाई कलाकार बनायो । 

अध्ययनलाई निरन्तरता दिन सकिनन् । कलाकारितामै भविष्य बनाउनतर्फ लागिन् । भन्छिन्, ‘घरायसी समस्याका कारण पढाइलाई निरन्तरता दिन सकिनँ । तर, कलाकारितामा चाहिने योग्यता मसँग छ जस्तो लाग्छ ।’ औपचारिक शिक्षा नलिए पनि अनौपचारिक शिक्षा लिने क्रम जीवनभर कहिल्यै नटुंगिने उनको कथन छ । 

दीपाशाको पहिलो फिल्म हो, ‘झेली’ । त्यसपछि उनले ‘दुलही रानी’, ‘बिरानो माया’ ‘ओएमजी’ लगायत आधा दर्जन फिल्ममा अभिनय गरिन् । सानैदेखि सडकनाटक गरेकाले उनलाई खासै गाह्रो भएन । फिल्मसँगै मोडलिङ गरिन् । 

दीपाशालाई परिवारको पूरै सहयोग छ । विशेष गरी आमाको सहयोग उनी भुल्न सक्दिनन् । भन्छिन्, ‘आमाको सपोर्ट नभएको भए आज म यहाँसम्म आइपुग्ने थिइनँ ।’ उनी अभिनेत्री रेखा थापालाई आफ्नो ‘आइडल पर्सन’ मान्छिन् । रेखाको निडर र आँटिलो स्वभाव उनलाई मन पर्छ ।

दीपाशा बोल्ड र सुन्दर छिन् । अभिनय राम्रो छ । आजभोलि उनी निकै व्यस्त छिन् । पहिलाको जस्तो गाह्रो छैन । केही नयाँ फिल्मको सुटिङ जारी छ । केही असाइन गरेकी छिन् । म्युजिक भिडियोबाट अफर त्यत्तिकै आउँछ । विभिन्न महोत्सवमा जान भ्याइ–नभ्याइ छ । रोल्पा महोत्सवमा जान हतारिँदै गरेकी उनी भन्छिन्, ‘पहिलेको तुलानामा अहिले राम्रो छ । म पनि माग भएको कलाकार भएकी छु । खुशी लाग्छ ।’ 

फिल्म क्षेत्रका विभिन्न समस्यासँग उनले पनि जुध्नुप¥यो । भन्छिन्, ‘फिल्म इन्डस्ट्रीमा नयाँलाई हेर्ने मानिसहरूको नजर नै अलग हुँदो रहेछ । धेरै प्रकारका मान्छेहरूसँग जोगिएर व्यवहार गर्नुपर्दो रहेछ ।’ उनी आफू भलो त जगत भलो हुने कुरा सम्झन्छिन् । भन्छिन्, ‘चाँडै हिट हुन कहिल्यै हतार गरिनँ, कहिल्यै गर्दिनँ पनि । मेहनत गरेर एक दिन अवश्य सफल हुन्छु ।’ यही बानीले उनलाई दमदार बनाएको छ । 

दीपाशा यहाँसम्म आइपुग्दाका दिनहरू सम्झन्छिन् । पहिलो फिल्म ‘झेली’ को घटना उनको स्मृतिमा आज पनि ताजा छ । भन्छिन्, ‘मेरो रुने सिन थियो । त्यही बेला खबर आयो मेरो आमाको लडेर हात भाँच्चिएको छ । टाउकोमा गम्भीर चोट लागेको छ, अस्पतालमा भर्ना गरिएको छ ।’ रुन नसकेर धेरै टेक लिइसकेकी दीपाशाले त्यो खबर सुन्नेबित्तिकै एकै टेकमा दृश्य सकाइन् । त्यो दृश्य सकिएपछि पनि उनी निकै बेर रोइरहिन् । 
दीपाशालाई धेरैले प्रेम प्रस्ताव राखेका छन् । सबैसँग विनम्र भएर बोल्ने दीपाशा सबैको प्रपोजलाई सम्मान गर्छिन् । इज्जतका लागि सुन्छिन् । ‘तर, स्वीकार गर्ने÷नगर्ने बेग्लै कुरा हो,’ उनी भन्छिन् । 

मोडलिङ र अभिनय यात्राको यो एक दशक दीपाशाका लागि उल्लेखनीय छ । उनी आफ्नो कामदेखि सन्तुष्ट छिन् । दुःख र सुख एउटै सिक्काको दुई पाटा भने जस्तै आइरहने उनको बुझाइ छ । तर, कामप्रति उनको मोह घटेको छैन । भन्छिन्, ‘काममा कहिले दुःख, कहिले सुख हुन्छ । तर, म आफ्नो काम र पेशाप्रति सन्तुष्ट छु ।’ दीपाशा जीवनलाई एउटा गतिशील यात्रासँग तुलना गर्छिन् । भन्छिन्, ‘जीवन एउटा कहिल्यै अन्त्य नहुने यात्रा रहेछ । जति शिखर चुम्यो, उति चुम्दै जान मन लाग्ने ।’ 
 

प्रतिक्रिया