डिरेक्टर सरीता    

राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
डिरेक्टर सरीता    

दर्जनौँ नाटकमा अभिनय गरेकी सरीता साहले नयनराज पाण्डे लिखित ‘लु’ र ‘काशीदेवी’ नाटक को निर्देशन पनि गरेकी थिइन् । राजा महेन्द्रलाई तराई भ्रमणका बेला बम प्रहार गर्ने दुर्गानन्द झामाथि आधारित नाटक हो ‘काशीदेवी’ । नाटकमा उनले झाकी श्रीमती काशीदेवीकै भूमिकामा अभिनय गरेकी थिइन् । मैथिली भाषाको यो नाटकमा उनको परिपक्व अभिनय र उम्दा निर्देशकीय क्षमताको सबैले प्रशंसा गरेका थिए । 

सरीता महोत्तरी जिल्लाको टिकिया गाउँमा जन्मिन्, हुर्किन् । सात कक्षासम्म पढ्न गाउँमै स्कुल थियो । एसएलसी दिन गाउँबाट अलि टाढा पुग्नुपथ्र्याे । त्यसभन्दा माथि पढ्न झनै टाढा पुग्नुपथ्र्याे । उनी पनि पढाइकै सिलसिलामा टाढा पुगिन् । अर्थात्, एसएलसी दिएर प्लस टू पढ्नका लागि जनकपुरतिर हिँडिन् । जिन्दगीको थोरबहुत तनाव त्यसपछि सुरु भयो । पढ्न त सजिलै थियो, गाह्रो चाहिँ पढाइका लागि खर्चबर्च जुटाउनु थियो । काम गरेर पढ्छु भन्दै परिवारसँग जिद्दी कसेर जनकपुरतिर हिँडेकी सरीतालाई  घरबाट पैसा आउने कुरै थिएन । ‘परिवारको आर्थिक अवस्था कमजोर थियो,’ उनले सम्झिइन्, ‘घरमा  पैसा माग्न सक्दिन थिएँ । मैले कामै गर्नुपथ्र्याे, काम खोजेँ ।’

एक दिन उनले थाहा पाइन्, ‘रेडियो टुडे’ मा भ्याकेन्सी खुलेको छ । त्यहाँ फारम भरिन्, नाम निस्कियो । अब जागिर पक्का भयो, उनको मुहारमा खुशी नाच्यो । पढाइ र काम चलिरह्यो । भन्छिन्, ‘काम त गरेँ तर छ महिनासम्म तलब नै आएन ।’ सातौँ महिनामा जिन्दगीको पहिलो कमाइ लिइन्, रु. १५ सय । त्यति पैसा कोठाभाडा र खाजा खर्चमै सकिन्थ्यो । पढ्नका लागि आएको, पढाइकै लागि पैसा नपुग्ने भयो । त्यसपछि एनजीओमा काम गर्न थालिन् । दुईतिर काम गर्न थालेपछि उनको पढाइ बरालिन थाल्यो । भन्छिन्, ‘केही समयपछि कलेज नै जान छाडिदिएँ ।’

‘रेडियो टुडे’मा सरीतासहित साथीहरू मिलेर रेडियो नाटक चलाउँथे । उनीहरू आफैँ अभिनय गर्थे । एक दिन रवीन्द्र झाले सरीतालाई फोन गरे । सरिता सम्झन्छिन्, ‘उहाँले हाम्रो कार्यक्रम दैनिक सुन्नुहुँदो रहेछ । एक दिन भेट्न बोलाउनुभयो ।’ रवीन्द्र झाले बोलाएको भनेपछि साथीहरूले सरीतालाई बधाई दिन लागे ।  आफू किन बधाईको पात्र बनेको हो, उनले मेसै पाइनन् । 

झाले उनलाई कचहरी नाटकमा भाग लिन बोलाएका थिए । घरबाट गाली गर्लान् भन्ने डरले उनलाई निर्णय लिन गाह्रो भयो । आमासँग कचहरी नाटक देखाउन काठमाडौँ जानेबारे सल्लाह गरिन् । आमाको सीधा जवाफ थियो, ‘त्यही रेडियोमा काम गर्दा त गाउँलेले कुरा काटेका छन् । नाटक देखाउँदै हिँडिस् भने बसिखानु हुँदैन । पर्दैन जान ।’ नाटक शहरमा मात्रै देखाउने र गाउँका कसैले पनि थाहा नपाउने भनेपछि परिवारले उनलाई काठमाडौँ जान अनुमति दियो । यसरी २०६८ सालतिर उनी कचहरी नाटक ‘नारी’ मा अभिनय गर्न काठमाडौँ आइपुगिन् ।

नाटक सक्काएर उनी फेरि जनकपुर फर्किन् र रेडियोमै काम गर्न थालिन् । केही समयपछि फेरि शिल्पी थिएटरले छनोट गरेका केही कलाकारमा उनी छानिइन् र त्यहाँ आबद्ध भएर नाटकमा लाग्न उनी फेरि काठमाडौँतिर हिँडिन् । त्यहाँ उनलाई मासिक पाश्रिमिक दिएर थिएटरकै होस्टेलमा बस्ने सुविधा थियो ।
अब उनले अभिनय सिक्नुका साथै विभिन्न नाटकमा काम पनि गरिन् । शिल्पीकै आयोजनामा उनले पहिलो पटक अभिनय गरेको नाटक थियो, ‘कोमा, अ पोलिटिकल सेक्स’ । त्यस यता धेरै नाटकमा उनले अभिनय गरिन् । 

नाटक खेल्छे भनेर गाउँमा उनलाई आलोचना गर्नेहरूको कमी थिएन । यही आलोचनालाई मत्थर पार्न तीन वर्षअघि छठको मौका पारेर दाइजोको सम्बन्धमा ‘सोलो पर्फर्मेन्स’ गरिन् । सरीता भन्छिन्, ‘हिजोआज गाउँ जाँदा सबैले माया गर्छन् । फेरि त्यही नाटक दोहो¥याउन आग्रह गर्छन् ।’
आफूले निर्देशन गर्नभन्दा अरूको निर्देशन गरेको नाटक खेल्न सजिलो हुने उनको अनुभव छ । भन्छिन्, ‘आफैँले नाटकको सबै पक्ष मिलाउनुपर्ने हुँदा तनाव हुन्छ ।’
सरीता बाल्यकालमा फिल्म धेरै हेर्थिन् । साथीहरू जम्मा गरेर फिल्मको विषयलाई चौरमा अभिनय गर्थिन्, गराउँथिन् । गाउँमा विभिन्न अवसर पारेर गरिएको नाटकहरूमा उनको पनि सहभागित रहन्थ्यो । नाच्न पनि सिपालु थिइन् । ‘यति हुँदाहुँदै पनि गाउँमा गाह्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘खुलेर हाँस्न, बोल्न पाइँदैनथ्यो । मन लागेको काम गर्न पनि पाइँदैनथ्यो ।’  

प्रतिक्रिया