कुनै बेला योग मास्टरको परिचय बनाएकी दीपा बस्नेतलाई अहिले धेरैले फिल्म निर्देशकका रूपमा चिन्छन् । उनले लगभग छ वर्षसम्म ओशो तपोवनमा ‘योग इन्स्ट्रक्टर’का रूपमा काम गरिन् । त्यतिबेला प्रदीप नेपाल, नरहरि आचार्य, विजयकुमार पाण्डेलाई समेत योग सिकाएकी थिइन् । सानो छँदा नै ठूला मान्छेहरूलाई योग सिकाउन पाउँदा आफँैप्रति घमण्ड जाग्ने गरेको सुनाउँछिन् । उनको आफ्नै योग केन्द्र थियो । विगत सम्झिँदा बस्नेतलाई लाग्छ, ‘म निर्देशक नबनेको भए योग क्षेत्रमा राम्रो परिचय बनाउँथे होला ।’ योगमा बस्नेतले यति राम्रो सफलता पाइसकेकी थिइन् कि प्रशिक्षककै रूपमा २००८ मा रसिया जानका लागि हातमा भिसा थियो । तर, अन्तिम दिनहरूमा रसिया नजाने निर्णय उनले लिइन् । त्यतिबेला उनलाई धेरैले जिस्काए, धेरैले खिल्ली उडाए । त्यो भिसा अहिले पनि बस्नेतको साथैमा छ ।
योग सिकाउनकै लागि उनी भारतसम्म पुग्ने गर्थिन् । २००१ मा उनी भारतको उडिसासम्म पुगिन् । त्यतिबेला उनलाई हिन्दी भाषा आउँदैनथ्यो । ‘थुप्रै मान्छेका अघिल्तिर ‘आफ्ना खुट्टा ऊपर उठाओ’ भन्थेँ,’ उनले भनिन्, ‘मान्छेहरू बुझ्दैनथे । खुट्टालाई हिन्दीमा ‘पैर’ भन्दा रैछन् ।’ यो घटना सम्झिँदा अहिले पनि बस्नेतलाई हाँस उठ्छ । भाषा जान्ने भएपछि नेपालमै विदेशीहरूलाई योग सिकाउन थालिन् । अहिले पनि उनलाई नेचुरल थेरापी गरिदिन भन्दै विभिन्न अस्पतालबाट फोन आउँछ । उनी भ्याउँदिनन्, लामो समयदेखि नयाँ फिल्मको लागि स्क्रिप्टमा काम गरिरहेकी छिन् ।
योगसँगै उनी नाट्य क्षेत्रमा पनि स्थापित हुँदै थिइन् । २०६२ सालतिरको कुरा हो, एउटा महोत्सव पारेर राष्ट्रिय नाचघरमा विजय विस्फोटले निर्देशन गरेको ‘मुर्दाहरूको महाभोज’मा उनको अभिनय रह्यो । धेरै मान्छेको अघिल्तिर गरिएको यो नै उनको पहिलो अभिनय थियो । यसमा अहिलेका चर्चित कलाकार दयाहाङ राईको समेत भूमिका देखिन्थ्यो । त्यसपछि उनलाई योगजस्तै नाटक अभिनयमा पनि रस पस्न थाल्यो । अभिनयले उनलाई यसरी तान्यो कि आफ्नो पढाइ छोडेर पूर्ण रूपमा नाटकमै लागिन् । त्यतिबेला देशका विभिन्न ठाउँमा गएर नाटक मञ्चन गरेको अनुभव अहिले पनि ताजै छ उनको मस्तिष्कमा । हिजोआज उनले नाटक अभिनय गर्न छाडेकी छिन् ।
योग र नाटक अभिनय गर्नेबाहेक उनकोे एउटा अर्का रुचि पनि छ, संगीत । एसएलसी दिएपछि राम्रो गीतकार बन्ने लक्ष्य लिएर २०५७ सालमा ललितकला क्याम्पसमा भर्ना भएकी थिइन् । त्यतिबेला उनलाई राम्रो गीतकार बन्ने जोश चलेको थियो । त्यसो त गीत गाउने रहर उनको बच्चैदेखिको हो । २०५४ सालतिर स्कुल पढ्दै गर्दा सिन्धु मल्ल र लक्ष्मी न्यौपानेसँग मिलेर बालगीत एल्बम नै निकालेकी थिइन् । त्यतिबेला पनि स्कुलले आयोजना गर्ने र गाउँमै हुने नाटकमा उनको अभिनय देखिन्थ्यो ।
दुई वटा ठूला फिल्मको निर्देशन गरिसकेकी बस्नेतले १५ वर्ष टेक्दै गर्दा पहिलो पटक टीभी कस्तो हुन्छ भनेर देखेकी हुन् । उनका बुबा इन्डियन आर्मीमा थिए । छोराछोरी बिग्रिएलान् भनेर बुबाले घरमा टीभीसमेत राखिदिएनन् । घरमा फिल्मबारे कुरा गर्न मनाही थियो । ‘‘केटाकेटीले अरूतिर ध्यान दिनु हुँदैन, खुरुखुरु पढ्नुपर्छ’ भन्ने बुबालाई लाग्थ्यो,’ बस्नेतले भनिन्, ‘यस्तो अवस्थामा आफू फिल्म क्षेत्रमा लागौँला भनेर त सोचेकी पनि थिइनँ ।’ घरमा कोही नहुँदा कोठा थुनेर नाच्ने, गीत गाउने गरेको उनले बताइन् । राम्रो बोल्न सक्ने खुबी भएकाले रेडक्रस, स्काउटजस्ता संस्थाले गर्ने कार्यक्रममा पनि उनको सहभागिता रहन्थ्यो ।
मुभीमा लाग्ने सोचाइ चाहिँ उनलाई विवाहपछि मात्रै आएको हो । त्यसअघि त उनी योगमै कहलिएकी थिइन् । गुल्मी हर्मीचौरकी यी निर्देशकको जिन्दगीकै ‘युटर्न’ विवाहपछि भयो । त्यतिबेला उनीसँग राम्रो कमाइ हुने जागिर थियो, योग सिकाउने । नाटक अभिनयमा पनि राम्रो हुँदै थियो । तर, अब उनले यी सबै छाडेर फिल्म निर्देशनमा हात हाल्ने निर्णय गरिन् । उनका लागि यो बिल्कुल नयाँ अनुभव थियो । यसका लागि चार वर्ष फिल्म निर्देशन नै पढिन् । एडिटिङ पनि सिक्दै थिइन् ।
फिल्मी क्षेत्रमा लाग्ने रहर भए पनि बस्नेतलाई पर्दामा देखिन मन पर्दैन थियो । उनले केही समय टेलिसिरियलहरूमा काम गरिन् । ‘५२ घुस्सा ५३ ठक्कर’ को तीन वटा एपिसोडमा उनको अभिनय देखियो । थिएटरमा लाइभ अभिनय गरेकी उनलाई पर्दामा आउन गर्नुपर्ने क्रियाकलापले वितृष्णा जगायो । बस्नेत प्रस्ट्याउँछिन्, ‘सिरियल गर्दाको नौटंकी, मेकअपले मलाई आनन्द नै दिएन ।’ धेरैको रहर अल्झिएको ठाउँमा बस्नेतले भने खुशी भेट्टाइनन् । यसपछि उनलाई बिस्तारै पर्दा पछाडिका काममा रुचि जाग्न थाल्यो । त्यसपछि नै हो उनले सर्ट मुभी ‘भाँडो’ निर्देशन गरेको । त्यस्तै, ‘अन्तराल’, ‘श्री ५ अम्बरे’ जस्ता फिल्म पनि निर्देशन गरिन् । यी फिल्मले सफलता मात्र पाएनन्, बस्नेतलाई फिल्म इन्डस्ट्रीमा स्थापित गराइदिए । उनले ‘राष्ट्रिय सर्वाेत्कृष्ट निर्देशक अवार्ड २०७०’ नै हात पारेकी थिइन् ।
पहिलो पटक आफूले निर्देशन गरेको सिनेमा पर्दामा आउँदा उनको खुशीको सीमा रहेन । फिल्म रिलिज हुने दिन आउँदै गर्दा भने उनलाई हल्का डर लागेको थियो । मान्छेहरूले मन नपराइदिने हुन् कि भन्ने पिर करिब एक हप्ताअघिदेखि नै परेको थियो । फिल्म क्षेत्रमा लागेकाहरूले राम्रो प्रतिक्रिया दिइरहेका थिएनन् । ‘त्यतिबेला हामीजस्ता नयाँ मान्छेलाई राम्रो प्रतिक्रिया दिइँदैनथियो,’ उनले भनिन्, ‘‘भाराभुरीले के फिल्म बनाउँछन्’ भन्ने सोच थियो ।’ पढाइभन्दा अनुभवलाई प्राथमिकता दिइने गरेको यथार्थ सुनाउँछिन्, बस्नेत । ‘निरुत्साहित गर्ने प्रवृत्तिले मलाई फिल्म क्षेत्रमा आउन गाह्रो बनाएको थियो,’ उनले भनिन् ।
निर्देशक बस्नेतले आफ्नो जिन्दगीमा लामो समयसम्म सपना नै देखिनन् । भविष्यमा के बन्छु भन्ने मेसै थिएन । ‘यति थाहा थियो, ‘जुन क्षेत्रमा लागे पनि त्यसमा नाम कहलाउँछु’,’ उनले भनिन् । आफ्ना लागि कुन क्षेत्र उपयुक्त हो भन्ने कुरा उनले एसएलसी दिइसक्दा पनि बुझेकी थिइनन् । राजनीतिमा चासो भएकाले राजनीतिज्ञ पो हुन्छु कि भन्ने पनि सोच्थिन् । स्कुल पढ्दै गर्दा आफ्नो पार्टीका कार्यक्रममा टाढा–टाढा पुग्थिन् । ‘कुन पार्टीमा आबद्ध थिएँ’ भन्ने कुरा चाहिँ उनी खुलाउन चाहँदिनन् । अहिलेको दलीय राजनीतिप्रति उनलाई तीव्र वितृष्णा छ । राजनीतिमा आफ्नो जिन्दगी सुरक्षित देख्दिनन्, उनी ।
राजनीतिप्रति वितृष्णा र देशको अवस्थाले विदेश पुग्नेको संख्या थपिदै जाँदा उनी चाहिँ हातमै रहेको अवसर पनि छाड्दै थिइन् । त्यतिबेला आफूलाई परिवारको एकदमै लोभ रहेको बताउँछिन्, उनी । नौ जना दिदीबहिनी थिए । उनी तेस्री अर्थात् साइँली । छोरी नै छोरी जन्माएको भनेर समाजले परिवारलाई हेर्ने दृष्टिकोण नै फरक थियो । बेला–बेला कुरा काट्थे । यस्तो वातावरणबीच त्यतिबेला आफूले पारिवारिक माया नपाएको उनी सुनाउँछिन् । परिवारबाट पाउनुपर्ने त्यो माया उनी श्रीमान्बाट पूरा गर्न चाहन्थिन् । त्यसैले परिवार छाडेर अन्त जाने कुरै थिएन ।
परिवारबाट खोजेको माया उनले विवाहपछि पाइन् पनि । फिल्म क्षेत्रमै लाग्छु भन्दा सबैको सहयोग रह्यो । श्रीमान्ले पढ्नका लागि घच्घचाइ रहन्थे । सासुले त नेपालमा पढाइ राम्रो नहुने भएकाले विदेशमा गएर पढ्न सल्लाह पनि दिएकी थिइन् । काठमाडौँमै फिल्म पढ्दै गर्दा उनी बिहानै कलेज जान्थिन्, ससुराले खाना बनाएर राखिदिन्थे । त्यतिबेला सासु गाउँमा थिइन् । ‘मैले माइतीबाट नपाएको माया बिस्तारै यताबाट पाउँदै गएँ,’ उनले भनिन्, ‘हामी बूढाबूढी खाना खाँदादेखि हिँड्दासम्म फिल्मकै कुरा गथ्र्यो । भ्यालेन्टाइन्स डेदेखि जन्मदिनमा समेत श्रीमान्ले फिल्मका चक्का उपहार दिन्थे ।’ उनी अहिले काठमाडौँ, अनामनगरमा श्रीमान् र छोरासँग बस्छिन् । बिहानै उठेर म्युजिक सुन्ने, योग गर्ने, घरधन्दा गर्ने, छोरालाई स्कुल पठाउने र आफू अफिस जाने उनको दैनिकी हो । परिवारप्रति सन्तुष्टिको भाव देखाउँदै उनले भनिन््, ‘सानो परिवार खुशी परिवार ।’
योे खुशी परिवार बेला–बेलाामा घुम्न निस्कन्छ । नेपालका विभिन्न ठाउँमा गइरहन्छ । चाइनासम्म घुम्न पुगेको छ यो परिवार । हप्तैपिच्छे फिल्म हेर्न हलसम्म पुग्छ । ‘हिजोआज श्रीमान्ले फिल्मका चक्का गिफ्ट दिँदैनन् बरु हलमै फिल्म हेर्न लैजान्छन्,’ उनले भनिन् ।