चिनियाँ नागरिकलाई लुटपाट गर्ने चार पक्राउ 

राम्रो अनलाइन     २२ चैत २०७७, आइतबार

काठमाडौँ । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा चार जनालाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा छन् । उनीहरुमाथि २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।

उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ । 

छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । 

प्रहरीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।
 

प्रतिक्रिया