नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर निलम्बित

राम्रो अनलाइन     २४ चैत २०७७, मङ्गलबार
नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर निलम्बित

पोर्चुगल । नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले निलम्बन गरेको छ । नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई निलम्बन गरेको हो ।

राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो । 

फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए । फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आएका पीडित विजय धिमालले बताए । 

सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताए । पोर्चुगलमा अवस्थित नेपाली सङ्घ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् ।
 

प्रतिक्रिया