अभिनेत्री गौरी मल्लले फिल्म ‘सन्तान’ बाट नेपाली सिनेमामा डेब्यू गरेकी हुन् । फिल्म ‘कन्यादान’ ले उनलाई लोकप्रिय बनायो । पछिल्लो समय उनी ‘सिंहदरबार’ सिरिजमा देखिएकी थिइन् ।
गौरी मल्ल २०२९ सालमा काठमाडौँ, नक्सालमा जन्मिएकी थिइन् । बाल्यकाल काठमाडौँमै बित्यो । बुबा नेपाली सेनामा थिए । आमा गृहिणी थिइन् । तीन जना दिदीबहिनीमध्ये गौरी माइली हुन् । शिवपुरी माध्यमिक विद्यालयबाट सुरु भएको उनको शिक्षा यात्रा कान्तेश्वरी विद्यालयमा आईएसँगै टुंगियो । यतिबेलासम्म अभिनय यात्रा भने सुरु भइसकेको थियो ।
‘डरपोक’बाट ‘निडर’ गौरी
बाल्यकालमा उनी लज्जालु स्वभावकी थिइन् । डरपोक पनि थिइन् । ‘हट्टाकट्टा, ज्यांगो शरीरको मान्छे देख्दा डर लाग्थ्यो,’ गौरीले भनिन्, ‘जोगीहरू त देख्नै नहुने । जोगी देख्यो कि चिच्याउँदै भाग्थेँ । घरको ढोकापछाडि लुक्थेँ ।’ सानोमा धेरै बोल्न रुचाउँदैन थिइन् । ‘घरमा पाहुनासँग बोल्न अप्ठ्यारो लाग्थ्यो,’ उनले सुनाइन्, ‘अर्को कोठामा गएर चुपचाप बसिदिन्थेँ । साथीभाइ पनि खासै थिएनन् ।’
आफ्नो लज्जालु स्वभाव हटाउन, आत्मविश्वास बढाउन गौरीले खेलकुदमा सक्रिय हुने सोच बनाइन् । ‘कुरा कक्षा छसात पढ्दाताकाको हो,’ उनले भनिन्, ‘मार्सल आट्र्स, फुटबल खेल्न थालेँ । कथा, कविता लेख्न थालेँ । पुस्तकमा भएका कथा÷कविताको शैलीमा लेख्थेँ ।’ राजारानीको जन्मोत्सवलगायत विभिन्न अवसरमा स्कुलमा कार्यक्रम हुन्थे । तिनमा भाग लिन्थिन्, गौरी । प्रतियोगितामा पहिलो÷दोस्रो स्थान हात पार्थिन् । ‘प्रकृति, देशभक्ति आदिमा रचना गर्थें,’ उनले सुनाइन् । संगीतमा पनि उनको रुचि थियो । त्यसैले आफूले रचना गरेका गीत रेकर्ड गर्न थालिन् । ‘संगीतमा सक्रिय भएपछि भीम तुलाधर, बबिन प्रधान, टीका भण्डारीसँग काम गर्ने मौका पाएँ,’ उनले भनिन् । बिस्तारै उनी बदलिइन् । सबैसँग निर्धक्क बोल्न सक्ने भइन् । निडर भइन् ।
गौरी मिस
परिवारमा पूजापाठ खूब चल्थ्यो । ‘त्यसकै प्रभाव होला, म पनि भगावन्प्रति आस्था राख्छु,’ उनले भनिन् । ‘हारती माँले नबचाएको भए, तँ अहिले यो संसारमा हुने थिइनस्’ भन्ने वाक्य गौरीले आमाको मुखबाट धेरै पटक सुनेकी थिइन् । भएको यस्तो थियो– एक वर्षकी हुँदा उनी सिकिस्त बिरामी भइन् । ‘घरमा म मरिसकेँ भनेर रुवाबासी नै चलेछ,’ उनले सम्झिइन्, ‘स्वयम्भूमाथिको जंगलमा ‘हारती माँ’ को मन्दिर छ । आमाबाले त्यहाँ गएर पूजा गर्नुभयो । हारती माँको चार वटा छोरीमध्ये एउटीसँग मेरो मित पनि लगाइदिनुभयो । देवीको शक्तिले म बाँच्न सके भन्नुहुन्थ्यो आमाबाले । त्यसैले हारती माँको माला मेरो घाँटीबाट कहिल्यै छुट्दैन ।’
बुबा पाल्पामा जागिरे थिए । स्कुले बिदामा गौरी पनि पाल्पा पुग्थिन् । तर, उनी त्यहाँ बिदा मनाउनको साटो पढाउन थाल्थिन् । आवासीय माध्यमिक विद्यालयका स–साना नानीबाबुलाई पढाउँथिन् । ‘पाल्पातिर गयो भने अहिले पनि कतिपयले ‘गौरी मिस’ भनेर बोलाउँछन्,’ उनले भनिन्, ‘बतासे डाँडामा गएर टिफिन बाँडेर खान्थ्यौँ । त्यहाँ अहिले पनि मलाई सम्झिने मान्छे छन् ।’
टर्निङ प्वाइन्ट
सानो छँदा उनले नर्स बन्ने सपना बुनेकी थिइन् । ‘नर्स बन्न नसके आर्मीमा जान्छु भन्ने थियो,’ उनले भनिन्, ‘तर, कलाकार बन्छु भन्ने सोचेकै थिइनँ ।’ उनलाई फिल्म क्षेत्रमा काम गर्ने खासै रुचि थिएन । ‘फिल्म हेर्थें तर अभिनयप्रति कुनै रुचि थिएन,’ उनले भनिन् । एक पटक पाल्पामा फिल्म ‘कान्छी’ को सुटिङ भइरहेको थियो । अभिनेता शिव श्रेष्ठको टिम त्यहाँ पुगेको थियो । ‘साथीहरूले फिल्म सुटिङ हेर्ने रहर गरे,’ गौरीले सुनाइन्, ‘‘जाओ तिमीहरू, म जान्नँ’ भनी टारिदिएँ । मलाई सुटिङ, अभिनय त्यति मन पर्थेन ।’
गौरीलाई चासो नभए पनि बुबालाई नृत्य र संगीतमा रुचि थियो । कला क्षेत्रमा लाग्न उनले परिवारको प्रशस्त साथ पाइन् । अभिनेत्री वसुन्धरा भुसालसँग पारिवारिक सम्बन्ध थियो । एक पटक वसुन्धरा उनको घरमा गएकी थिइन् । नयाँ कलाकारको खोजी भइरहेको कुरा गौरीले उनैबाट थाहा पाएकी थिइन् । ‘‘गौरी तिमी काम गर्छौ ?’ भनेर सोध्नुभयो,’ गौरीले सम्झिइन्, ‘मैले पनि ‘भइहाल्छ नि’ भनिदिएँ । तर, मैले मजाक गरेकी थिएँ ।’ मजाकमा भनिएको कुरा साँचो भइदियो । वसुन्धराले फिल्म निर्देशक प्रकाश थापासँग गौरीको भेट गराइदिइन् । त्यसपछि फिल्मका लागि फोटो सुट गर्नुपर्ने भयो । ‘त्यो बेला पनि म लज्जालु नै थिएँ,’ उनले भनिन्, ‘फोटो सुट गर्न मानिनँ । तर, परिवारले ‘फोटो सुट गर’ भनेर अड्डी कस्यो । मैले उहाँहरूको कुरा मान्नैपर्यो ।’ सुरुको फोटो सुटमा उनी रिजेक्ट लिस्टमा परिन् । दोस्रोमा भने फिल्म ‘सन्तान’ मा काम गर्ने मौका पाइन् ।
पहिलो फिल्ममा काम गरेको एक वर्षसम्म उनी फुर्सदिलो भइन् । ‘कुनै फिल्मको अफर आएन,’ उनले सुनाइन्, ‘त्यतिबेला कमै फिल्म बन्थे । त्यसैले पनि होला अफर नआएको ।’ फुर्सदको समय सदुपयोग गर्न उनी नेसनल क्लब अफ डान्स सेन्टरमा भर्ना भइन् । डान्स सिक्न थालिन् । ‘त्यसपछि त अफरको ओइरो लाग्यो,’ उनले भनिन्, ‘एकैचोटि धेरै फिल्मका अफर आए ।’ ‘चेलीबेटी’, ‘लोभीपापी’, ‘कन्यादान’ लगायत फिल्ममा उनले काम गरिन् । फिल्म ‘कन्यादान’ हिट भयो । गौरी चर्चित भइन् । ‘त्यो बेला ‘कन्यादान नै गौरी, गौरी नै कन्यादान’ भनेर पनि चर्चा भएको थियो,’ उनले सुनाइन् ।
करिअरको गोल्डेन एज
आफूले धेरैभन्दा धेरै सिनेमा गरेको समयलाई उनी ‘गोल्डेन एज अफ द करिअर’ भन्न रुचाउँछिन् । ‘दर्शकले सम्झनलायक फिल्मका काम गर्न पाउनु कुनै पनि कलाकारका लागि महत्वपूर्ण कुरा हो,’ उनले भनिन्, ‘‘कन्यादान’, ‘चट्याङ’, ‘लोभीपापी’ जस्ता फिल्ममा काम गर्न पाएँ । त्यो मेरा लागि गोल्डेन एज हो ।’
उबेला कलाकारले कमै पारिश्रमिक पाउँथे । त्यसमाथि महिला कलाकारले झनै कम पाउँथे । एउटा फिल्मबाट उनी आठ हजार रुपैयाँ पारिश्रमिक पाउँथिन् । ‘पैसा थोरै भए पनि त्यो बेला आफ्नो मेहनतको फल पाउँदा दंग पर्थें,’ उनले भनिन्, ‘सुरुमा पाएको आठ हजार रुपैयाँ कहाँ राख्नेजस्तो भाको थियो ।’
पारिश्रमिकमा कुरा नमिल्दा उनले फिल्म छोडेकी छिन् । ‘त्यसताका हिरो–हिरोइनले पाउने पारिश्रमिकमा भेदभाव हुन्थ्यो,’ उनले सुनाइन्, ‘हिरोइनका लागि कमै पारिश्रमिक राखिन्थ्यो । यो परम्परा नेपाली फिल्म क्षेत्रमा अहिले पनि कायमै छ ।’
गौरीले बलिउड फिल्म ‘इश्कियाँ’ मा काम गरेकी छिन् । अभिनेता सुनील थापामार्फत बलिउडमा काम गर्ने मौका पाएको उनी बताउँछिन् । ‘गेस्ट आर्टिस्टका रूपमा काम गरेँ,’ उनले भनिन्, ‘विद्या बालन, नसिरुद्दिन शाह, अरसद वारसीलगायत कलाकारसँग काम गर्ने मौका पाएँ ।’ बलिउडको काम गर्ने तरिका र वातावरण फरक रहेको उनी बताउँछिन् । ‘राउन्ड मेचमा बसेर स्क्रिप्ट पढ्नुपर्ने हुन्थ्यो,’ उनले भनिन्, ‘सिंगो टिमसँग बसेर स्क्रिप्ट पढ्नुपथ्र्यो । नेपालमा त्यस्तो चलन थिएन ।’